१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सेवानिवृत्त उपसचिवको २४ ठाउँमा घरजग्गा, मुद्दाबाट जोगिन ‘फर्जी आम्दानी’ पेस



काठमाडौँ । उपसचिवबाट अवकाश पाएका शशिभूषणकुमार यादवले भ्रष्टाचारबाट आर्जेको सम्पत्तिबाट २१ ठाउँमा जग्गा खरिद र तीन ठाउँमा घर निर्माण गरेको पाइएको छ । २०४६ सालमा नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गरेका सर्लाहीका यादवले आफू सरुवा भएर गएको हरेक ठाउँमा जग्गा किनेको तथ्य अनुसन्धानबाट खुलेको हो ।

गैरकानुनी आर्जनबाटै उनले भक्तपुरमा दुईवटा र सर्लाहीमा एउटा घर निर्माण गरेको भेटिएको छ । उनी र परिवारका सदस्यका नाममा स्रोत नखुलेको १ करोड ६२ लाख ६६ हजार रुपैयाँभन्दा बढी मौज्दात फेला परेको छ । सरकारी सेवामा रहँदा पद दुरुपयोग गरी करोडौं भ्रष्टाचार गरेको भन्दै यादवविरुद्ध २०७८ पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । त्यसपछि अघि बढेको अनुसन्धान टुंग्याउँदै अख्तियारले मंगलबार यादवविरुद्ध ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ बिगो कायम गरी त्यत्ति नै जरिवाना र कैद सजाय तथा स्रोत नखुलेको रकमबाट बढेरबढाइएको चलअचल सम्पत्ति जफत गर्न मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । सम्पत्ति फिर्ता प्रयोजनका लागि यादवकी श्रीमती रीता रानी तथा दुई छोरा विकास र अविनाशलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणअनुसार आरोपितविरुद्ध बिगो, कैद र जरिवानाको मागदाबीसहित आरोपितविरुद्ध मुद्दा दायर गरिएको बताए । भ्रष्टाचारबाट कमाएको पैसाले बढेरबढाइएको चलअचल सम्पत्ति पनि जफत गर्न मागदाबी लिइएको दाहालले बताए । यादव २०४६ जेठ ८ मा सहायक निरीक्षक पद नियुक्त भएका थिए । उनको सुरु पोस्टिङ गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जमा भएको थियो ।

सेवा प्रवेश गरेको केही वर्षबाटै पद दुरुपयोग गरी गैरकानुनी आर्जनमा सक्रिय बनेका उनी त्यसपछि निरन्तर जग्गा खरिद गर्ने ध्याउन्नमा लागेको देखिन्छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार यादवले आफू कार्यरत रहेका ठाउँमा घूस र अरू गैरकानुनी आम्दानीबाट आर्जेको रकम जग्गामा लगानी गर्ने गरेको देखिन्छ । अनुसन्धानका क्रममा यादवले अख्तियारमा पेस गरेका कागजातको परीक्षणमा पनि सम्पत्तिको दुई तिहाइ स्रोत पुष्टि नभएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !