१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमध्येका एक जना पक्राउ



काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रहित प्रतिकूल, संगठित अपराध, ठगी र किर्तेका दफा लगाएर बिगो, कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको थियो । आरोपितविरुद्ध २८ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

मुद्दा चलाइएकामध्ये १६ जना पक्राउ र १४ जना फरार थिए । फरार मध्येका एक लक्ष्मी महर्जन केही दिनअघि पक्राउ परेकी थिइन् । सोही अभियोगमा प्रतिवादी बनाइएका हरिभक्त बिहीबार काठमाडौंबाटै पक्राउ परेका हुन् । काठमाडौं प्रहरीले यो प्रकरणमा संलग्नविरुद्ध राज्य विरुद्धको अपराधसहितका कसुरमा प्रतिवादी बनाएर ३० जना विरुद्ध अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि जेठ १० मा सरकारी वकिल कार्यालयले आरोपित ३० जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

यो प्रकरणमा आरोपित बनाइएकामध्ये तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजसहित १२ जना फरार छन् । हरिभक्त लक्ष्मी महर्जनका श्रीमान हुन् । लक्ष्मी नेपाल प्रहरी अस्पताल महाराजगन्जमा सई पदमा कार्यरत नर्स हुन् । हरिभक्तले भुटानी शरणार्थी बनाउने भन्दै सर्वसाधारणबाट असुलेको रकम लक्ष्मीको खातामा राखेको खुलेपछि लक्ष्मी पनि प्रतिवदाीको सूचीमा समेटिएकी थिइन् । अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएकामध्ये पक्राउ परेकामाथि बयान जारी राखेको छ । बयान सकेर थुनछेक बहस थाल्ने अदालतको तयारी छ ।


प्रतिक्रिया दिनुहोस !