७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अदालतमा बालकृष्ण खाँणको बयान : मलाई केही पनि थाहा छैन



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू पक्राउ पर्ने कल्पनै नगरेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण २७ वैशाखमा आफ्नै निवासबाट पक्राउ परे । उनले तत्काल आफ्नो साथमा रहेको कागजको चिट च्यातेर फालेका थिए । त्यही चिट जोडेर प्रहरीले उनलाई नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको प्रमाणको रुपमा पेश गरेको छ । चिट च्यातेको र त्यसमा लेखिएको व्यहोराबारे जिल्ला अदालत काठमाडौंमा सोधिएको प्रश्नमा उनले बयानमा भनेका छन्, ‘मैले कसैलाई केही भनेको छैन । च्यातिएको कागजको टुक्रा सम्बन्धमा मलाई कुनै जानकारी भएन ।’

जिल्ला अदालतमा शुक्रबार गरेको ७ पृष्ठ लामो बयानमा पूर्वगृहमन्त्री खाँणले पटकपटक ‘यो विषय मलाई जानकारी भएन, मलाई थाहा भएन, यसबारेमा मेरो जानकारी छैन’ भनेर सबैजसो सवालको इन्कार गरेका छन् ।

खाँणनिकट एक कानून व्यवसायीका अनुसार, पक्राउ परेपछि रक्षात्मक देखिएका र तौलिएर बोलेका उनले घटना अनुसन्धानका क्रममा प्रहरीसँगको बयानमा जसरी प्रस्तुत भएका थिए, अदालतमा पनि त्यही बाटो अपनाएका छन् ।

छुट भएका भुटानी शरणार्थीलाई तेस्रो देश पठाउन गृह मन्त्रालयबाट अघि बढाएको प्रक्रियाबारे उनले आफूलाई थाहा नभएको बरु सचिव र सम्बन्धित महाशाखा प्रमुखहरुलाई जानकारी हुने भनी प्रहरीमा बयान दिएका थिए । उनले प्रहरीसँगको बयानमा सबै प्रस्ताव सम्बन्धित महाशाखा, सचिव हुँदै आफूकहाँ पेश भएको र सदर भएर मन्त्रिपरिषदमा पुगेको बयान दिएका थिए । अदालतमा समेत उनले त्यही व्यहोरा दोहोर्‍याए ।

खाँणलाई नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका मुख्य आरोपी केशवप्रसाद दुलाल र सानु भण्डारीले रकम लिएको भनेर पोलेका थिए । खाँणका निजी सचिव नरेन्द्र केसीले समेत ५ लाख रुपैंयाँ लिएका दुलाल र भण्डारीले बताएका थिए । सचिव टेकनारायण पाण्डे र भुटानी शरणार्थी नेता टेकनाथ रिजालले समेत बयानमा खाँणको नाम जोडेका थिए ।

खाँणले सबै विषयमा आफूलाई केही थाहा नभएको भन्दै बयानमा भनेका छन्, ‘अनुसन्धानको विषयमा किन लेखिएको हो मलाई कुनै जानकारी भएन । प्रतिवादीको व्यहोरा सम्बन्धी मलाई कुनै जानकारी छैन ।’

यही प्रकरणमा आरोपित अरु व्यक्तिको बयान, कागज पढेर सुनाउँदा समेत बारम्बार ‘मलाई कुनै जानकारी भएन’ भनी जवाफ दिएका छन् । गृह मन्त्रालयबाट भएको निर्णय, कागजात आदानप्रदान र प्रतिवेदनका बारेमा समेत खाँणले ‘मलाई थाहा भएन’ भनी जवाफ दिएका छन् । मन्त्रालयको कागजात नै फेरबदल गरेकोबारे उनले बयानमा भनेका छन्, ‘मलाई थाहा हुने कुरा भएन ।’


प्रतिक्रिया दिनुहोस !