६ चैत्र २०८०, मंगलवार
 |   Tue Mar 19 2024
Logo

प्रधानमन्त्री दाहालको भारत भ्रमणपछि महाकाली सन्धिको २७ वर्षपछि नेपाललाई पानी दिन भारत सहमत



काठमाडौँ । महाकाली सन्धि भएको २७ वर्षपछि भारतले नेपाललाई पानी दिने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेको बेला यो सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । टनकपुर लिंक क्यानल निर्माणको स्वागत गर्दै नेपालतर्फ आवश्यक पर्ने संरचनाको उपलब्धताको आधारमा चरणबद्ध रूपमा टनकपुर ब्यारेजबाट नेपालको सिँचाइ हुने क्षेत्रमा नहरबाट पानी छोड्ने दुई पक्षमा सहमति भएको दूतावासले जनाएको छ ।

यसअघि २०७९ असारमा टनकपुर लिंक क्यानलबाट पानी छाडेर नहरको परीक्षणसमेत गरिसकेको छ । त्यतिबेला २२ किलोमिटरसम्म पानी प्रवाह भएको थियो । ४८ किलोमिटर मूल नहरमध्ये २८ किलोमिटर नहर तयार भइसकेको छ । यसले तीन हजार हेक्टर जमिनमा मात्र सिँचाई पुग्नेछ । बाँकी नहरको काम पनि धमाधम भइरहेको सिँचाइ विभागले जनाएको छ । अहिले मूल नहरमा नै आवश्यकता अनुसार पानी छाड्ने र पछि शाखा नहरहरू तयार भएपछि अरू थप पानी छाड्ने बताइएको छ । सन्धिमा टनकपुर हेड रेगुलेटरबाट वर्षातमा २८.३५ क्यूसेक (घनमिटर प्रतिसेकेण्ड) र हिउँदमा ८.५ क्यूसेक पानी नेपाललाई उपलब्ध गराउने उल्लेख छ । भारत सरकारले तयार गरेको लिंक क्यानलबाट नेपाल सरकारले महाकाली तेस्रो सिँचाइ आयोजना सञ्चालन गरेको छ । यो आयोजना पूर्ण रूपमा सञ्चालनमा आयो भने ३३ हजार भन्दा बढी हेक्टरमा सिँचाइ हुने विभागले जनाएको छ । २०५३ असोज ४ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला महाकाली सन्धि भएको थियो ।


प्रतिक्रिया दिनुहोस !