८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

माओवादी केन्द्रसँग एकता गर्ने तयारीमा विप्लव, तारतम्य मिलाउँदै महरा



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) माओवादी केन्द्रमा फर्किन तयारीमा लागेका छन् । विप्लवले आफ्ना गुरु तथा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरासँग नियमित संवाद गरिरहेका छन् । विद्यालयमा महरा पढाउँदा र विप्लव पढ्दा मात्रै होइन, राजनीतिमा समेत दुबै गुरुचेला हुन् । पार्टी विभाजन भएको ११ वर्षपछि महरा र विप्लव एउटै पार्टीमा हुनेगरी छलफल जारी राखेका छन् । पार्टीबाट वार्ता टोली संयोजक भएका महराले माओवादी र गैरमाओवादी पृष्ठभूमिका नेताहरुसँग संवाद जारी राखेका छन् ।

पछिल्लो समय एकीकृत समाजवादी र जसपासँग तत्काल समाजवादी मोर्चा वा सहकार्य हुने स्थिति नभएपछि महराले विप्लवसँग छलफल जारी राखेका छन् । महराले नेसपा, नेकपा र आमजनता पार्टीलाई एकता गर्न छलफल गरिरहेका छन् । त्यसमध्ये उनले विप्लवसँग पार्टी एकता गर्नेगरी छलफल गरिरहेको पार्टी सचिव गणेश शाहले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवबीच २०७७ फागुन २१ गते तीन बुँदे सहमति भएपछि विप्लव नेतृत्वको नेकपाको प्रतिबन्ध फुकुवा भएको थियो । प्रतिबन्ध फुकुवा भएको दोस्रो दिन माओवादीका कुनै नेतालाई नभेटेर विप्लव महरालाई भेट्न खुमलटार पुगेका थिए । त्यसपछि मात्रै विप्लव काठमाडौंबाट कपिलबस्तुतिर लागेका थिए ।

त्यसयता महरा र विप्लवबीच धेरै पटक एकल र संयुक्त संवाद भइसकेको छ । गत माघमा दाङ जाने क्रममा महरा शिवगढी बासै बसेर छलफल गरेका थिए । काठमाडौं आउँदा विप्लव प्रायः महरा निवास खुमलटार पुगेकै हुन्छन् । महरा सकेसम्म विप्लवलाई पार्टीमा भित्र्याउन जोडवलका साथ लागेका छन् । तर, पार्टीका अरु नेताहरुले खासै चासो दिएका छैनन् । महराको दौडधुपले पछिल्लो समय विप्लवसमेत मन कमलो बनाउँदै लगेका छन् । गत जेठ दोस्रो साता नेकपा बैठकले वामपन्थी प्रगतिशील शक्तिसंग एकता र ध्रुवीकरणमा जाने निर्णय गरेको छ । एमालेबाहेक शक्तिसंग मोर्चाबन्दी गरेर जाने समाजवादी मोर्चा बनाउने निर्णय गरेको छ । विप्लव नेतृत्वको नेकपाले वार्ताका लागि सहजीकरण गर्न नेता कर्णजीत बुढाथोकीलाई जिम्मेवारी दिएको छ । कर्णजीतसँगै विप्लव आफै पनि माओवादीका नेताहरुसंग नियमित छलफलमा छन् । यद्यपि पार्टी एकता नै गर्ने गरी महरा र विप्लवबीच समझदारी बन्न सकेको छैन । माओवादी केन्द्रका नेता भन्दा एक स्टेप अघि बढेर माओवादी आन्दोलन र प्रचण्डको विप्लवले प्रतिरक्षा गदै आएका छन् । कुनैबेला प्रचण्ड–बाबुराम विरुद्ध तिखो आलोचना गर्ने विप्लव पछिल्लो समय प्रशंसामा समय खर्चिने गरेका छन् । माओवादी आन्दोलनविरुद्ध कसैले आलोचना गरे विप्लव कडामा खनिने गरेका छन् ।

पछिल्लो समय राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थिति बद्लिएको भन्दै विप्लवले प्रचण्ड–बाबुरामलगायत नेतारुलाई आलोचना गर्न छोडेका छन् । बरु उल्टै सकेसम्म प्रशंसामै समय खर्चिने गरेका छन् । प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि विप्लवले सबैभन्दा बढी प्रचण्डकै प्रतिरक्षा गरेका थिए । सबै माओवादी एक भएमा पहिलो शक्ति हुने विप्लवले धारणा राखेका थिए । पछिल्ला थुप्रै कार्यक्रमहरुमा विप्लवले प्रचण्डको आलोचना गर्न छोडेका छन् । यसले समेत विप्लव प्रचण्डससँग नजिक भएको अनुभूति गर्न सकिन्छ । धर्मेन्द्र र हेमन्त पार्टी विभाजन भई वैद्यसँग नजिकिन थालेपछि विप्लव माओवादी केन्द्रसँग नजिक भएका हुन् । पार्टीबाट धर्मेन्द्र र हेमन्तप्रकाश पक्ष छुटेर मोहन वैद्यसँग एकता गरेपछि विप्लव र महरा संवाद सघन हुन थालेको नेकपा एक नेताले बताए ।


प्रतिक्रिया दिनुहोस !