७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

बजेट बनाउँदा बिचौलिया छिरेका छैनन्, करका दर हेरफेर भएका छैन : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा केही व्यापारीको स्वार्थमा करको दर हेरफेर नभएको बताएका छन्। आर्थिक विधेयकमाथि मंगलबार प्रतिनिधिसभामा भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

‘बजेट निर्माण र करका दरबारे निर्णय गर्दा कोही पनि बाहिरका मानिस संलग्न हुँदैनन्। करका दरबारे दायाँबायाँ गरिएको छैन’, उनले भने, ‘म आउनुभन्दा अगाडि नै रामकृष्ण श्रेष्ठजीले नियुक्ति लिइसकेका रहेछन्। उहाँले बजेट बनाउँदा ३० औँ वर्षदेखि काम गरेको, इमान्दा र दक्ष मान्छे भनेपछि राखिएको हो तर उहाँको काम प्रमाणित गरेको फाइल इन्ट्री गर्ने मात्रै हो।’

ललितपुरको कुसुन्तीका पूर्वनायव सुब्बा श्रेष्ठको दक्षताका कारण उनलाई बजेट निर्माणका क्रममा उपयोग गरिएको पनि बताए। त्यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रामकृष्णलाई अर्थमा नियुक्ति दिएकोबारेमा प्रश्न उठाएका थिए।

‘अर्थ मन्त्रालयमा एक जना कर्मचारी रामकृष्ण श्रेष्ठलाई २०७९ फागुन १९ गतेका दिन सरकारले निर्णय गरेर नियुक्त गरेको देखिन्छ। त्यतिखेर अर्थमन्त्री को थियो, सचिव को थिए रु २ वर्ष अगाडि रिटायर्ड भएका कर्मचारीलाई त्यहाँ नियुक्ति गर्नु पर्ने जरुरी के पर्यो ? उनले सोधेका थिए, ‘२ वर्ष अगाडि उनले अवकास पाएका थिए। २०७९ फागनु २५ गतेदेखि लागु हुने गरी उनको म्याद २०८० साल असार मसान्तसम्म रहने गरी महिनाको ३४ हजार ४३० रुपैयाँ तलब पाउने गरी नियुक्ति गरिएको देखियो। त्यो कसको इन्ट्रेस्टमा किन नियुक्ति गरिएको हो, अर्थमन्त्रीसँग जानकारी माग्न चाहन्छु।’

खतिवडाले उनलाई बेरुजु विशेषज्ञका रुपमा नियुक्त गरिएको पाइएको पनि खुलाए। उनले भन्सार विभागका अधिकृत घनश्याम तिमिल्सिना र ललितपुरको कुसुन्ती बस्ने रामकृष्ण श्रेष्ठबीच यो काममा सहमति भएको देखिएको बताए।

‘यो अवस्थामा कतिपय कुराहरु यहाँ आएका छन्। के का लागि, कसले किन नियुक्ति गर्‍यो ? कसको पालामा नियुक्त गरियो ? यसलाई निरन्तरता दिनु पर्ने कार्य के हो ? त्यसको जवाफ म अर्थमन्त्रीबाट जान्न चाहन्छु।’, उनले भने।


प्रतिक्रिया दिनुहोस !