६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

कृषि र पशुपालनमा असल अभ्यास अवलम्बन गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानहरुलाई असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गरेका छन् । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त आह्वान गरेका हुन् ।

नागरिकको जीवन रक्षाका लागि खाद्य स्वच्छताको सुनिश्चितता हुनु जरुरी भएको भन्दै उनले भनेका छन्, ‘म देशका सम्पूर्ण किसान दिदीबहिनी तथा दाजुभाइहरुमा सधैं असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गर्दछु ।’

अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको उपभोगले आम जनसमुदायको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा खाद्य वस्तुको उत्पादन, उपभोग तथा बजारीकरणमा स्वच्छता र गुणस्तर कायम राख्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिँदै आएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । साथै नागरिकको गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने अधिकार, खाद्य प्रणालीमाथिको सहज एवम् सुलभ पहुँच र स्वास्थ्य रक्षालाई आफूले सधैं उच्च प्राथमिकतामा राखेको उनले बताएका छन् ।

खाद्य प्रशोधन उद्योगमा सधैं असल गुणस्तरयुक्त उत्पादन अभ्यास अवलम्बन गर्दै प्रभावकारी नियमन एवम् स्वीकृत मापदण्डहरुको कार्यान्वयनमा ध्यान दिन पनि प्रधानमन्त्री प्रचण्डले विशेष आग्रह गरेका छन् ।

हरेक वर्ष ७ जुनका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघले वर्ष २०२३ को लागि ‘खाद्य स्वच्छताले जीवन बचाउँछ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ । नेपालमा ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ भन्ने नारासहित जेठ १८ गतेदेखि २४ गतेसम्म साताव्यापी रुपमा यो दिवस मनाइँदै छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय