१८ मंसिर २०८०, सोमबार
 |   Mon Dec 4 2023
Logo

सीआईबीबाटै सुन काण्डका दोषी पत्ता लाग्ने दाबी



पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीबाटै सुन काण्डका दोषी पत्ता लाग्ने दाबी गरेका छन् । यसअघिका अनुभवमा पनि विभिन्न काण्डमा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नभएको बताउँदै उनले राज्यको संस्थागत रुपले दक्ष, जिम्मेवार र अनुसन्धानकै लागि भनेर निर्माण गरिएका संरचना, संयन्त्रहरुलाई काम गर्न दिनु पर्ने बताए ।

प्रेस सेन्टर नेपाल कास्कीले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले एमालेले छानबिन समितिको माग राख्दै संसद अवरुद्ध गर्नु दुखद् रहेको बताए । एक पटक कमरेड केपी ओली नै प्रधानमन्त्री हुनुभएको बेलामा २२ किलो सुन काण्डका सन्दर्भमा एउटा छानबिन समिति बनाउनुभयो उहाँहरुले । त्यो छानबिन समितिको रिपोर्ट त आयो तर केही पनि आएन,’ श्रेष्ठले भने, ‘न सुन आयो, न त्यसको सिफारिस कार्यान्वयनमा आयो ।’

छानबिन समितितिर जानुभन्दा पेसागत रुपमा यसकै लागि विकासित गरिएका जसले अनुसन्धान र अभियोजन दुई वटै अगाडि बढाउन सक्छ, त्यहीँबाट दोषी पत्ता लगाउने श्रेष्ठले बताए । सीआईबीले यो अनुसन्धान अगाडि बढाउँदा नै दोषीहरु पत्ता लाग्ने र तिनिहरुलाई कानुनको दायरमा पनि ल्याउन सक्ने दाबी श्रेष्ठको छ ।

अनुसन्धान र तथ्यप्रमाणले कहाँसम्म दोषी अपराधी देखिन्छ, त्यहाँसम्म जाने श्रेष्ठले बताए । सुन काण्डमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको बाबुछोरा पनि मुछिएको प्रश्नमा श्रेष्ठले कुनै माओवादी पार्टी वा अरु परे पनि नछुट्ने दोहोर्‍याए । ‘यसमा कोही माओवादी पर्‍यो भने पनि छुट्दैनन् । कोही कांग्रेस, एमालेको मतलब छैन, कुनै घरनाको मतलब छैन । कुनै सम्बन्धको मतलब छैन,’ श्रेष्ठले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुनु सबैको लागि लज्जाको विषय भएको उनको भनाइ थियो । जुन प्रकारको सुन तस्करी भयो, त्यसले देशको छविलाई नै आघात पुर्‍याएको, राजश्व र अर्थतन्त्रमै असर परेको श्रेष्ठले बताए ।

सुन काण्डलाई अन्तिम निष्कर्षमा पुर्‍याएर तत्काल त्यसको नेकवर्क पहिचान गरेर दोषीमाथि कारबाही गर्ने र दोस्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण सुरक्षा र व्यवस्थापनलाई समीक्षा गरेर नयाँ नीति र योजनाका साथ अगाडि बढ्ने दाबी गृहमन्त्री श्रेष्ठको छ ।

ललिता निवास सरकारी जग्गा हो भन्ने तथ्य र प्रमाणका आधारमा नेपाल सरकारको दाबी रहेको र त्यहीअनुसार मुद्दा तथा अनुसन्धान अगाडि बढिरहेको श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय