१८ मंसिर २०८०, सोमबार
 |   Mon Dec 4 2023
Logo

पुटिन र किमको भेटवार्ता हुँदै, अमेरिका र दक्षिण कोरियालाई तनाव



एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ्ग उनले भेटवार्ताको तयारी गरेका छन् । उनीहरुबीच यसै महिना भेटवार्ताको तयारी भएको हो । अमेरिकासँग पृथक रुपमा मुठभेडमा रहेका यी दुई मुलुकका नेताले आपसी सहकार्यका लागि वार्ता अघि बढाउने भएका हुन् । भेटमा उत्तरकोरियाले खाद्यान्न तथा ऊर्जाबारे सहकार्यको प्रस्ताव राख्ने तयारी गरेको छ भने रुसले उत्तर कोरियासँग हतियार खरिदको तयारी गरेको छ । खाद्यान्नको बदलामा उत्तरकोरियाले अत्याधुनिक हतियार रुसलाई उपलब्ध गराउन सक्ने बताइएको छ ।

दुई नेताबीचको भेट मस्कोमै हुनेछ । सन् २०२० यता किम जोन उन पहिलोपटक विदेश जान लागेका हुन् । सन् २०१९ मा पुटिन र किमबीच भेट भएको थियो । रुसले युक्रेनमा हमला गरेसँगै उत्तर कोरियाले रुसलाई हातहतियार उपलब्ध गराएको आशंका भइरहेको छ । रूसका रक्षामन्त्री सर्गेइ सोइजु गत जुलाईमा पोङयाङ पुगेर उत्तरकोरियासँग थप हतियार माग गरेको अमेरिकी जासुसी निकायको जिकिर छ । हाल पश्चिमा र त्यसका समर्थक राष्ट्रहरुबाट प्रतिबन्ध व्यहोरेकाले युद्ध लड्नका लागि रुसले उत्तर कोरिया र इरानसँग हात अघि बढाइरहेको छ ।

उनका अनुसार सन् १९९१ मा सोभियत युनियनको पतनपछि उत्तरकोरिया भ्रमण गर्ने रुसका पहिलो रक्षामन्त्री सोइजु नै हुन् । रक्षा मामिला विश्लेषक पाभेल फेलुन्गरका अनुसार उत्तर कोरिया रुसलाई उसको माग अनुसार हतियार उपलब्ध गराउनका लागि सक्षम छ । यता उत्तर कोरियाबाट हतियार खरिद गर्ने विषय भने संयुक्त राष्ट्रसंघको सन्धि विपरीत हुनेछ । यस सन्धिमा रुसले समेत समर्थन जनाएको थियो । नीन अध्ययन सम्बन्धी संस्था असानमा कार्यरत विश्लेषक चा दो ह्युङ रुसलाई ठूलो परिमाणमा हतियार उपलब्ध गराउन उत्तर कोरियालाई कठिन रहेको बताउँछन् । ‘रेलवेमार्फत दुई राष्ट्र जोडिने भएकाले ठूलो परिमाणमा हतियार पठाउनका लागि कठिन नै छ,’ उनले भने ।

विज्ञहरुका अनुसार उत्तर कोरियाली नेता किम जोन उनले त्यहाँबाट सैन्य प्रविधिमा सहायताको अपेक्षा राखेका छन् । पुटिन र उत्तर कोरिया दुबैलाई पश्चिमा समर्थकहरुले एक्ल्याएका छन् । किम उत्तर कोरिया–अमेरिका र जापानबीचको त्रिपक्षीय सहकार्यका कारण दबाबमा छन् । पुटिनमाथि पनि निकै दबाब छ । यस्तो अवस्थामा उनीहरुको मिलनको आवश्यकता पूर्ण मेल खान्छन् । उत्तर कोरिया र रुसबीच खाद्यान्नको बदलामा हतियार र प्रविधिको सम्झौता हुनेछ । यता किमले मस्कोसँग सम्बन्ध विस्तार गर्दै वर्षौं देखि एक्लिएको अवस्थालाई चिर्न खोजिरहेका छन् । किमले उच्च प्रविधियुक्त हतियार निर्माणका लागि रूससँग सहयोग माग्न सक्ने विज्ञहरु बताउँछन् ।

लामो दुरीको क्षेप्यास्त्र, हाइपरसोनिक ब्यालेस्टिक मिसाइल तथा आणविक हतियार सहितको पनडुब्बी निर्माणका लागि उसले रुससँग प्राविधिक सहायता माग्न सक्ने विश्लेषक होङ मिन बताउँछन् । तर आफ्नो निकट साझेदार चीनलाई समेत नखुलाएको प्रविधि रुसले उत्तर कोरियालाई दिनका लागि कठिन नै रहेको उनी बताउँछन् । रुसले आफ्ना अत्याधुनिक हतियारका प्रविधिको रक्षा निकै लामो समयदेखि गरिरहेको छ ।

रुसले युक्रेन कब्जाका लागि अझै आक्रामक आक्रमणको तयारी गरिरहेका बखत उत्तर कोरियाले पनि क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको अवस्था छ । रुसका रक्षामन्त्री सोइजुले उत्तर कोरिया र रुसबीच संयुक्त सैन्य अभ्यास हुने बताएका छन् । यसअघि सोइजुले नै चीन समेतको संलग्नतामा त्रिपक्षीय सैन्य अभ्यासको प्रस्ताव गरेका थिए । सैन्य अभ्यास भएमा कोरियाली युद्धपछि उत्तर कोरियाको पहिलो संयुक्त अभ्यास हुनेछ । आफैँ सक्षम हुने भन्दै उत्तर कोरियाले संयुक्त सैन्य अभ्यास नगर्ने घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय