
काठमाडौ । अर्थ समिति सभापति सन्तोष चालिसेले अर्थसमितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताएका छन्।शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले समितिको बैठकमा बोल्दै सभापति चालिसेले यस्तो बताएका हुन्। उनले सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने बताए।
‘अहिले भन्सार प्रमुखले फोन गरेर अर्थ समितिलाई बोलाएर अनुगमन गरिदिन माग गर्नुभएको छ। समितिले आजसम्म गरेका समितिका निर्णयहरु ८० प्रतिशत कार्यान्वयन भएका रहेनछन्। ८० प्रतिशत समितिका निर्देशन सरकारले पालना गर्दैन भने समितिको बैठक मात्रै बसेर नकारात्मक सन्देश गयो। सरकारले समितिको निर्देशन पालना नगरे समितिको बैठक बस्दैनौं,’ उनले भने।
बैठकको भत्ता मात्रै लिनको लागि बैठक बसेर निर्देशन दिने तर सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गएको उनको भनाइ थियो। समितिले अहिलेसम्म दिएका निर्देशन पालना नभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापक छलफल गरी अनुगमन गर्न आवश्यक रहेको पनि उनले बताए।
‘ठूलो रकमको विदेशी मदिराहरू वीरगञ्ज भन्सारमा रहेको र आयात गर्ने मानिस सम्र्पकविहीन भएको कुरा आएको छ। सरकारको राजस्व नउठेर समिति राजस्वको कुरामा चिन्तित छौं। भन्सारमा राजस्व उठ्ने कुरामा त्यतिकै थन्किएर बसेका छन्,’ उनले भने, ‘अर्थमन्त्रीले दुई महिनाभित्र भन्सारमा रोकिएका सवारी साधन लगायतका वस्तुहरू भन्सारबाट निकाल्न निर्देशन दिएको कति महिना भयो। काम भयो भएन भन्नेकुरा छ। यति धेरै राजस्व आउने कुरामा हामी सुतेर बसेको छौं।’
भन्सार कार्यालयहरूमा सामान आयात गरेर भन्सारमा नै थन्काउने र आयातकर्ता सम्पर्कमा नपाउदाँ भन्सारमा अर्बौंको सामान थन्किएर बसेको उनले बताए।साथै, उनले भन्सार प्रमुखहरुले अर्थ समितिलाई फोन गरेर भन्सार अनुगमनको लागि आग्रह गरेको पनि जानकारी समितिमा गराएका छन्।