काठमाडौं । सत्ता गठबन्धनभित्र कोशीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रले दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी मुख्यमन्त्री आफ्नो पार्टीले लिने अडान राखेका छन्। नेपाली कांग्रेसले पनि आफ्नै नेतृत्वमा कोशीमा सरकार बनाउने पहल गरेको थियो। तर कांग्रेस सत्ता गठबन्धनभित्रकै पार्टीमध्येबाट मुख्यमन्त्री हुने गरी छलफल गर्न लचिलो भएको छ।
‘शुक्रबारसम्म समय छ, सकेसम्म कांग्रेसले नै लिने गरी मुख्यमन्त्रीका लागि पहल हुनेछ,’ प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने, ‘कांग्रेसबाट मुख्यमन्त्री नभएको खण्डमा गठबन्धनभित्रकै पार्टीबाट मुख्यमन्त्री बनाउने गरी छलफल भइरहेको छ। यसो हुँदा स्वत माओवादीको दाबी रहने नै भयो। कोशीमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनभित्र दाबी गरिरहेका छन्। यसअघि दुई पटक मुख्यमन्त्री भएका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पनि दाबी छाडिसकेका छैनन्। कोशीमा राप्रपाको साथ लिएर सत्ता गठबन्धनले सरकार बनाउन खोजेको छ। तर राप्रपाले शुक्रबार बिहान ८ बजे बस्ने पदाधिकारी बैठकबाट मात्रै कोशी सरकारबारे निर्णय लिने तयारी गरेको छ।
९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन चाहिन्छ। मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० मा पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले असोज २६ गते शुक्रबार अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि समय दिएका थिए। कोशीमा नेकपा एमालेका ४० जना, नेपाली कांग्रेसका २९ जना, नेकपा माओवादी केन्द्रका १३ जना, राप्रपाका ६ जना, नेकपा एकीकृत समाजवादीका ४ जना र जसपाका १ जना सांसद छन्।