
काठमाडौं । इजरायलबाट फर्किएका २५४ जना नेपालीहरुले नेपाल सरकारलाई धन्यवाद दिएका छन् । उनीहरुले ढिलै भए पनि नेपाल सकुशल फर्काउन पहल गरेकोमा सरकारलाई धन्यवाद दिए । सिराहाकी शोभा पासवानलाई इजरायलबाट सकुशल नेपाल फर्किन्छु जस्तो लागेको थिएन । ती दिनसम्म बङ्कर भित्र बसेर ज्यान जोगाउँदा नेपाल फर्किन सफल भएकी शोभाले इजरायलको त्यो कहालीलाग्दो अवस्था चित्रण गर्नै सक्दैनन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट लर्निङ एण्ड अर्निङ कार्यक्रममार्फत इजरायल पुगेकी शोभा शुक्रबार नेपाल फर्किएकी छिन् । इजरायल र गाजाबीचको युद्धको अवस्था देख्दा उनलाई सकुशल नेपाल फर्किन्छु जस्ता लागेको थिएन । तर, ढिलै भए पनि नेपाल सरकारले देखाएको सक्रियताले आफू निकै खुसी रहेको उनको भनाई छ ।
‘हामीले हाम्रा साथी गुमाउँदा जीवनभरको लागि पीडा भयो । तर पनि नेपाल आउन पाउँदा निकै खुसी लागेको छ । यसका लागि नेपाल सरकारलाई धेरै धेरै धन्यवाद । अन्तिममा नेपाल आउन पाउँदा निकै खुसी छु’ उनले भनिन् । गत शनिवार गाजास्थित हमास समूहको तर्फबाट भएको आक्रमण भएको थियो । जसमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए । शोभाले ती मध्ये दुई जना हितैसी मित्र राजेश स्वर्णकार र गणेश नेपाली गुमाइन् । जसको पीडा उनले जीवनभर भुल्ने छैनन् ।
‘हाम्रो छेउकै घर भत्किएका थियो । त्यसपछि हामी तीन दिन बङ्कर भित्र बस्यौ । आकाश पुरै कालो भएको थियो । सेकेन्ड सेकेन्डमा बम पड्किरहेको थियो । मसँगका साथी राजेश स्वर्णकार र गणेश नेपालीलाई गुमाए । यो मेरो जीवनभरको लागि पीडादायी हुनेछ’ उनले भनिन् । उनीसँगै १८ जना साथीहरू सानो बङ्कर भित्र तीन दिनसम्म बसेका थिए । ‘एउटै बंकरमा १८ जना लुकेर बसेका थियौँ । बम आएपछि के गर्ने भनेर हामीलाई आईडिया नै थिएन । उनले त्यो बेलाको क्षण सम्झिदै भनिन्, ‘टेरेरिष्ट अट्याक भएपछि के गर्ने भन्ने अनुमान समेत गरेका थिएनौँ । तर पनि तीन दिनसम्म त्यही बङ्कर भित्र लुकेर बस्यौ ।’
शनिवार बिहान ६ः३० मा उनी योगा गर्दै थिइन् । अन्य साथीहरू सुतिरहेकै थिए । त्यही बेला अचानक एक सेकेन्डमा २०/३० वटा मिसाइलहरू आयो । आकाश पुरै कालो भयो । जताततै बम पड्किएको आवाज मात्र आयो । एकाएक साइरन बज्न थाल्यो । साइरन बजेपछि के हुन्छ भनेर उनीहरू डराउन थाले । त्यत्तिकै उनीहरू बसेको भन्दा अर्को घर पूर्ण रूपमा ध्वस्त भयो । त्यसपछि उनीहरू झन् डराए । र बङ्कर भित्र लुक्न गए ।
‘बङ्कर भित्र लुकेर बसेका थियौँ । बाहिर के भइरहेको छ देख्न त सकेनौँ । तर, फिल गर्यौ । घरी घरी हाम्रो बंकरमा नक गर्न आउँदा टेरेरिष्ट नै आयो कि भन्ने डर थियो । डरै डरमा तीन दिन बङ्कर भित्र बस्यौ । तीन दिनपछि खाना र पानी सबै सकियो । त्यसैमा पनि २४ घण्टामा एक पटक खाना खान पाएका थियौँ । त्यो बेला हामीहरू पुरै हेल्पलेस थियौँ’ उनले भनिन् । रेश्मा श्रेष्ठलाई समेत सकुशल नेपाल फर्किइन्छ जस्तो लागेको थिएन । शनिवारदेखि नेपाल नफर्किदासम्मको कहालीलाग्दो अवस्था उनको आँखामा अझै पनि झलझली आइरहन्छ । जसले गर्दा उनी अहिले पनि डराउँछिन् ।