
दशैँलाई नेपालमा महान पर्वका रुपमा मनाउने गरिन्छ । अझ आश्चार्यको कुरा के भने, राज्यले नै यो पर्वका लागि करिब एक महिने बिदा दिने गरेको छ । कुनै पनि धर्म निरपेक्ष राष्ट्रले कुनै एक धर्मलाई एक महिना बिदा दिने प्रचलन सही हो वा गलत भन्ने प्रश्न प्राज्ञिक क्षेत्रमा बारम्बार उठ्ने गरेको छ । यदी नेपालका चार वटा मुख्य धर्ममा आधारित कुनै एक पर्वलाई दशैँ जस्तै एक महिना सरकारी बिदा दिने हो भने, सायद नेपालमा बाह्र महिनामा चार महिना सरकारी कार्यालयका कामकाज ठप्प हुँदो हो । यसरी हिन्दु धर्मका बाहेक अरु धमहरु (बौद्ध, इस्लाम र इसाई) का पर्व लागि एक महिना बिदा दिन संभव छ भन्ने प्रश्न उठ्नु भने स्वभाविक हो । पहिलो कुरा दशैँलाई गैरहिन्दुहरुले पनि स्वीकार गरेका छन् । गैरहिन्दु समुदायका मानिसहरुले पनि दशैँको बेला किनमेल गर्ने र रमाउने गरेका छन् । दोस्रो भौगोलिक रुपमा पनि हिमाल पहाड तराई सबै क्षेत्रमा दशैँ मनाउने गरिन्छ । तर त्यसो भए नेपालमा दशैँ कहिलेदेखि मनाउन थालिएको हो भन्ने प्रश्नको सही उत्तर खोज्न जरुरी छ ।
हिन्दु धर्म र दशैँको सम्बन्ध
त्यसो त हिन्दुहरुको पहिलो पुस्तक मानिने ऋगवेदमा दशैँका बारेमा ब्याख्या गरिएको छैन । यसको मतलब हिन्दु धर्मका वैचारिक पुस्तकहरुमा कही पनि दशैँ पर्वको ब्याख्या भेटिदैन तर यसको मूल जरो भने सिन्धु सभ्यताबाट आएको समाजशास्त्रीहरुको तर्क छ । सिन्धु सभ्यताको विघटनपछि सिन्धु घाटीबाट मानिसहरु काश्मिर घाटीँ हुँदै गंगा मैदानमा पुग्दा कृषि युगको विकसित चरणमा वर्षा ऋतुको अन्त्य र हेमन्त ऋतुको शुरुमा प्राकृतिक उत्सव (पर्व) का रुपमा दशैँ मनाउन थालिएको विश्वास गरिन्छ । तत्कालीन अवस्थामा श्रम विभाजन अति सरलिकृत रहेको र गण व्यवस्थामा आधारित अर्थ सम्बन्ध रहेकाले कृषि प्रणाली पनि सामुहिक हुने गर्दथ्यो ।
अर्थात् कृषि प्रणाली पनि समुदायको हुने भएकाले दशैँ पनि तीन साता लामो समयसम्म लम्बिएको समाजशास्त्रीहरुको तर्क छ । कालान्तरमा गंगा मैदानबाट राज्य बीचको टकराब, गण गणको बैमनुस्यता, धार्मिक युद्ध, जातीय युद्धलगायतका कारण मानिसहरु कोही दक्षिण भारततर्फ लागे । भने कोही गंगा मैदानको उत्तरतर्फ नेपालको तत्कालीन मिथिला राज्य अहिलेको मधेश हुँदै नेपालको पहाड पुगे । अहिले भारतमा मनाईने दशहराको नेपालमा अपभ्रम्स भएर दशैँ भन्न थालिएको हो । दशहरामा सामान्य गणेशको मुर्तीलाई नदीमा बगाउने गरिन्छ । तर नेपालमा गोर्खा राज्यको विस्तारपछि भने दशैँलाई धार्मिक रङ दिईएको हो । त्यसपछि मात्रै यस भित्रका विभिन्न परिघटनालाई घुसाउँदै राज्य सत्ता बचाउने अस्त्रका रुपमा प्रयोग गरेको देखिन्छ ।

दशैँ कसरी देशव्यापी रुपमा फैलियो ?
दशैँलाई महान चाड मान्न सकिन्न र वास्तविक रुपमा महान होईन पनि । पहिलो कुरा दशैँ असत्यमाथि सत्यको जीत, दैत्य माथि देउताहरुको जीत, महिषासुरमाथि देवहरुको जीत भन्ने कुरा नै अफवाह हो । सत्य र असत्य सापेक्षित हुन्छ । निरपेक्ष कहिल्यै पनि हुँदैन । दैत्यमाथि देवहरु र रावणमाथि अयोध्याका राजा रामको जीत नभई नेवा राज्यमाथिको गोर्खा राज्यको जीतको विजय उत्सव मनाउन पृत्थ्वीनारायण शाहले विजया दशामीको प्रचलन चलाएको देखिन्छ । त्यसलाई सामाजिक रुपमा स्थापित गर्न राज्यसत्ताको मदतले बल प्रयोग गरी जंगबहादुर राणाले आफुलाई राजा शुरेन्द्रले श्री तीन अर्थात् पाल्पा राज्यको महाराजको उपाधि दिएपछि त्यस बाफत्को गुन तिर्न सुरेन्द्रका पूर्वज पृथ्वीनारायण शाह गोर्खाबाट काठमाडौंको हनुमानढोका दरबार सरेको दिनलाई विजय उत्सवका रुपमा मनाउने चलनलाई विजया दशामी भनेर ब्याख्या गरे । अहिले पनि गार्खा दरबारबाट नेपाली सेनाले बाजागाजाका साथ काठमाडौं बसन्तपुरको हनुमान ढोकामा दशैँको आठौँ दिन फुलपाती भित्तर्याउने गर्दछ ।
दोस्रो उनले दशैँलाई सामाजिक रुपमा स्थापित गराउन (राष्ट्रिय पर्व बनाउन वा सामाजिक रुपमा स्थापना गर्न) राज्यको ढुकुटीबाट तत्कालीन सरकारी अधिकारीहरुलाई दशैँ भत्ता र एक महिने दशैँ बिदाको व्यवस्था गरे । त्यो भत्ता बाफत् पाएको खर्चले सरकारी अधिकारीहरुले गाउँगाउमा खसी काटेर भोज खुवाउन उर्दी जारी गरे । त्यस्तै उने दशैँमा कर उठाउने चलन ल्याए । कसैलाई राजकीय थर (सुब्बा, लेखक, खड्का, अधिकारी) इत्यादी दिएर, दशैँ मान्न बाध्य पारियो । त्यो क्रम केही दशकसम्म चल्यो ।
सुदुरपश्चिममा दशैँको बहिष्कार
पछि सामाजिक रुपमा दशैँ देशैभरी पर्वका रुपमा फैलियो थाल्यो । तर देशका पूर्व र पश्चिम (शुदुर पश्चिम) भूभागहरुमा दशैँ पर्वको बहिष्कार गर्न थालियो । विशेष गरी सुदुरपश्चिममा दशैँलाई भन्दा आफ्नो मौलिख पर्व बिसु पर्व (नयाँ वर्षको पहिलो दिन) लाई प्राकृतिक पर्वका रुपमा मनाउने भएकाले दशैँलाई मनाउन अस्वीकार गरियो तर राणा शासकहरुले आफ्ना स्थानीय प्रतिनिधि भएको ठाउँमा अनिवार्य रुपमा मनाउन बाध्य बनाए तर राज्यको उपस्थिति नरहेको वा स्थानीय राज रैबारहरुको भन्दा केही टाढाका ठाउँमा दशैलाई सामान्य औपचारिकताभन्दा बढी कहिल्यै मनाएको देखिन्न । जस्तै दार्चुलाको तत्कालीन मार्मा क्षेत्रको हालको नौगाडका सिप्टी, धुलिगाडा, खार, साङपाङ, सुण्डमुण्ड, नागु, सल्लालगायतका ठाउँमा तत्कालीन राज्यसत्ताको पहुँच थिएन । त्यहाँका जनताले दशैँ मनाउन कहिल्यै पनि घर घरमा खसी, बोका काटेर दशैँ मनाएनन् ।
तर मार्मा क्षेत्रमा राज्यसत्ताको केन्द्र भएको हुँदा दशैँको बढी नै प्रभाव रहेको देखिन्छ । उता दुहुमा बमहरुको थातथलो भएको हुँदा हिकिला, बस्पाली, विणजस्ता गाउँका घर घरमा खसी काट्ने प्रचलन छ । यता महाकाली नगरपालिकाको सदरमुकामभन्दा टाढा रहेको धौकोट, दोपखे, थाप्लामा पनि दशैँलाई घरघरमा खसी काटेर दशैँ मनाउने चलन थिएन र अहिले पनि छैन । तर तत्कालीन राज्यका पाल प्रतिनिधि भएको ठाउँ लेकम क्षेत्रको लाली, माल्लिकार्जुनलगायतका थुप्रै ठाउँमा ब्यापक रुपमा दशैँ मनाईने गरिन्छ । तत्कालीन राणा शासकहरुको दशैँ मनाउने उर्दीको सुदुरपश्चिमेलीहरुले उल्लघंन गर्दा दश हजारको संख्यामा सेना परिचालन गरिएको सुदुरपश्चिमका जानकारहरु बताउँछन् । सुदुर पश्चिममा दशैँ जमराको सट्टा नयाँ वर्ष (बिसु पर्व) मा स्थानीय भाषामा कलै अर्थात् गोबरमा गहुँ वा जौको बाला राखेर घरको दैलो र मन्दीरमा राख्ने प्रचलन अहिले पनि रहेको छ ।
दशैँ नमनाउँदा किराँतमाथि राज्यको दमन
उता पूर्वमा पनि ह्वाङ्हो सभ्यताबाट कालान्तरमा तिब्बत हुँदै नेपाल प्रवेश गरेका र मुन्धुम सँस्कार मान्ने अर्थात् (प्रकृति पूजक) किरातहरुले दशैँलाई मनाउन सहर्ष स्विकार गरेनन् । त्यसपछि फायर भएका जंगबहादुरका प्रतिनिधिहरुको सुराकीमा अहिलेको धरानको आठपहरिया भन्ने ठाउँमा किरातका रिम्हाम्लिङ र रिदामा भन्ने दुई जना विद्रोहीको टाउको छिनालिएको थियो । त्यसै गरी किरातहरुलाई दशैँ पर्व मनाएको प्रमाण रुपमा टिका लगाउन जाँदा आफन्तको घरमा रागोँ र खसीका फिला लैजानु पर्ने बाध्यकारी चलन चलाईएको थियो, भने घरको दैलोमा रगतले छ्यापेर पाँच औँलासहितको हत्केलाको छाप बनाउनु पर्ने अन्यथा ठूलो हर्जना तथा सजाय दिने गरिन्थ्यो । त्यसपछि केही दमन, केही सरकारी लोभ हुँदै कालान्तरमा पूर्वमा पनि दशैँलाई महान पर्वका रुपमा बाध्य भएर स्वीकार गरियो । त्यस्तै अहिले पनि किरातहरुले दशैँमा सेतो टिका मात्रै लगाउँछन् रातो टिका लगाउँदैनन् ।
अन्योलमा भौतिकवादीहरु
त्यसो भए दशैँ धार्मिक र राज्यसत्ताको प्रतिरक्षा गर्ने पर्व मात्रै हो त ? यो विषयमा आफुलाई क्रान्तिकारी, अग्रगामी र अझ बडो द्धन्द्धात्मक भौतिकवादी भन्नेहरु नै अन्योलमा देखिन्छन् । पहिलो कुरा आफुलाई भौतिकवादी दाबी गर्नेहरु कि दशैँलाई पूर्ण रुपमा बहिष्कार गर्छन् र समाजबाट अलग्गिन्छन्, कि लिप्त भएर एमालेका जबजवादीहरु जस्तै भौतिकवादलाई लत्याउँदै धार्मिक अन्धभक्त बन्न पुग्ने गरेका छन् । तसर्थ दशैँलाई महिमा गाउँदै लिप्त हुने प्रवृत्ति र बहिष्कार गर्ने दुबै अतिवाद नै हुन् । तसर्थ दशैँ भित्र केही महत्वपूर्ण र सामाजिक रुपमा बहिष्करण गर्नै नमिल्ने पक्षहरु पनि छन् ।
दशैँले अभिव्यक्त गर्ने प्राकृतिक अविछिन्न प्रक्रिया
पहिलो कुरा: दशैँ धार्मिक अन्धविश्वासमा मात्रै आधारित पर्व हो भन्न नसकिने अवस्था छ । यो सामाजिक रुपमा यति धेरै जटिलजस्तो बन्न पुगेको छकी यसको बहिष्कार संभव नै छैन । यस भित्रका केही कुरा प्राकृतिक रुपमा सास्वत् जस्ता देखिन्छन् जसलाई अस्वीर गर्न असंभव नै छ । उदाहरणका लागि घटस्थापनाको दिन स्थापना गरिने घडमा शुरुमा पञ्चमृत राखिने गरिन्छ । अर्थात् पाँच वटा अनाज । त्यसको माथि घड राख्निछ । घडमा पानी र पानीमा फल र फलमाथि फुल राखिन्छ । शुरुमा माटो अर्थात् प्रकृति, त्यसमाथि पाँच वटा अनाज अर्थात् पञ्चमृत, त्यसमाथि घड अर्थात् स्त्री, त्यसमाथि फल र फुल अर्थात् स्त्रीको पेटमा रहेको बच्चालाई जनाउने गर्दछ । घटस्थापनाले प्रकृतिको एक अविछिन्न प्रक्रियालाई जनाउने गर्दछ ।
दोस्रो: विजया दशामी भन्ने गरेको दिन उमारिएको जमरा काटेर मान्य जनबाट कानमा राख्ने गरिन्छ । प्राचिन कालमा जमरा उम्रनुको अर्थ हेमन्त ऋतुको पहिचान गर्नु पनि एक ध्येय थियो भन्ने साँस्कृति विद्हरुको तर्क रहेको छ । अर्थात् जाडो याम लाग्नुभन्दा पहिला हिउँदे बाली, गहुँ, जौलगायतका अनाजहरु उम्रने समयको पहिचान गर्ने प्रयोगशालाका रुपमा दशैँको जमरा उमार्ने चलन चलेको हुन सक्ने एक थरीको तर्क छ । त्यस्तै दशैँमा मान्यजनबाट लगाईने जमरालाई सामाजिक मुल्य र मान्यताका आधारमा जतिसुकै भौतिकवादीहरु भए पनि बहिष्कार गर्नै नसकिने अवस्था बनेको छ ।
अत: विद्यमान यथास्थितिवादी सत्ताको पक्षपोषण गर्ने, सामाजिक आवरणमा हुकाईएका दशैँ जस्ता पर्वहरुको सच्चा द्धन्द्धात्मक भौतिकवादीहरुले वैकल्पिक र समाजले सर्वस्वीकार्य रुपमा ग्रहण गर्न सक्ने खालको पर्वहरुको विकास गर्न नसक्दा यो दशैँ महान पर्व बनिरहने छ । तसर्थ यस भित्र रहेका जनविरोधी र प्रतिगामी र अतिभुतवादी वैचारिक धरातलमा सुधार ल्याउँदै यसलाई सरलीकृत गर्ने प्रयत्न गर्नुका साथै यसको विकल्पमा वैज्ञानिक, व्यवाहारिक र मौलिख सँस्कारको विकास गर्न आवश्यक छ ।