
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले सहमतीय सरकार बनाउने प्रयास गरेको बताएका छन् । उनले आफूले पूर्वमुख्यमन्त्री हिक्मत कार्कीकै एजेण्डा अनुसार सहमतीय सरकार बनाउन माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको बताए । विश्वासको मत नपाएर यसअघि दुई जना मुख्यमन्त्री सरकारबाट बाहिरिनु परेको भन्दै उनले आफूले पाएको विश्वासको मतको सम्मान गर्दै र पूर्व मुख्यमन्त्री कार्कीले भन्ने गरेको सहमतीय सरकारकै एजेण्डा अनुसार आफू अघि बढेको उनले बताए ।
नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । तर आफूहरुको सहमति विपरीत कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको भन्दै नेकपा एमाले असन्तुष्ट छ । नयाँ मन्त्रीको शपथग्रहणमा एमालेको सहभागिता समेत रहेन ।