१८ मंसिर २०८०, सोमबार
 |   Mon Dec 4 2023
Logo

लोकप्रिय र प्रभावकारी सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध



काठमाडौं । सरकारले आम मानिसमाझ पछिल्लो समय लोकप्रिय भएको प्रभावकारी सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको छ । सोमबारको मन्त्रिपरिषदले गरेको यो निर्णय केही घण्टामै सञ्चार मन्त्रालय, दूरसञ्चार प्राधिकरण हुँदै इन्टरनेट सेवा प्रदायकसम्म पुगेको छ । ‘टिकटकबाट लगातार सामाजिक सद्भाव बिथोलिने गरी, हाम्रो पारिवारिक संरचना र सम्बन्धलाई खल्बल्याउने गरी प्रचारप्रसार भइरहेका छन्’, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘यस सन्दर्भमा तत्काललाई टिकटक बन्द गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।’

निर्णयलगत्तै तिहारको सार्वजनिक विदाका कारण बन्द भएको सञ्चार मन्त्रालयमा उच्चपदस्थ अधिकारीहरु पुगेर मन्त्रिपरिषदको निर्णयका आधारमा पत्र तयार गरेका थिए । त्यो पत्र केही घण्टामै नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुलाई पत्राचार गरेर सेवाग्राहीले टिकटक प्रयोग गर्न नमिल्ने बनाइदिएपछि सरकारको निर्णय कार्यान्वयन हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, कुनै कानुनी सरसल्लाह र छलफलविना नै टिकटक बन्द गराउने निर्णयमा सरकार पुगेको हो ।

टिकटक बन्द गर्ने प्रस्तावसँग सरोकार राख्ने सञ्चार, कानुन र गृह मन्त्रालयमा समेत यसवारेमा सामान्य छलफल समेत नभएको स्रोत बताउँछ । सरकारले निर्णय गर्नुअघि महान्यायाधिवक्ता र महान्यायाधिवक्ताको कार्यालयसँग समेत त्यसको कानुनी धरातलको वारेमा कुनै राय लिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत एक विज्ञका अनुसार, करिव ६÷७ महिनायता प्रमुख दलका शीर्ष नेताहरुबीचको छलफलमा टिकटकका सामग्रीले आफूहरुको मानमर्दन भएको सवालमा बारम्बार छलफल भएको थियो । टिकटककै कारण आफ्नो गाली बेइज्जती र मानमर्दन भएको भनेर प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको दाबी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किदा मुर्राभैंसी ल्याउने सहमति भएको विषयले टिकटकमा नकारात्मक रुपमा चर्चा पाएको थियो । उनी भैंसी चढेर हिँडेको भिडियोहरु बनाइएको थियो । पशुपतिनाथको जलहरी प्रकरणको चर्चा हुँदा टिकटकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सुनको कपडाले ढाकिएको फोटो र भिडियो भाइरल भएको थियो । ‘यस्तै पृष्ठभूमिमा दुर्गा प्रसाईंले दिएका अभिव्यक्ति र फैलाएको भ्रमका कारण टिकटक अब चल्न दिनै हुँदैन, यसले सिध्याउँछ भन्ने शीर्ष नेताहरु पुगेका हुन्’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । सरकारले सामाजिक सञ्जालहरुलाई नियमन गर्न सामाजिक सञ्जाल सञ्चालन निर्देशिका जारी गरेको चार दिनमै टिकटकलाई रोक लगाउने निर्णय सार्वजनिक भएको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय