ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कारवाही प्रक्रिया शुरु « Name of Truth News : News Portal in Nepal
   ३० आश्विन २०७८, शनिबार
 |   Sat Oct 16 2021
Logo

ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कारवाही प्रक्रिया शुरु



काठमाडौँ । सरकारले ठेक्का सम्झौतामा तोकिएको अवधिमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही अघि बढाएको छ । सडक विभागले गत असार मसान्तमा अवधि सकिए पनि निर्माणनै अघि नबढाएका वा सो अवधिमा सम्पन्न नगरेका निर्माण कम्पनीलाई उक्त प्रक्रिया थालेको हो ।

डिभिजन सडक कार्यालय हेटौँडा, लहान, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनालगायतका विभाग अन्तर्गतका कार्यालयले सूचना प्रकाशित गरिरहेका छन् । कतिपय एक वर्षीय त कतिपय बहुवर्षीय ठेक्का समयमा सम्पन्न नभएकाले कालोसूचीमा निकालिएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो ।

विभाग अन्तर्गत ३४ डिभिजन र विभिन्न आयोजना गरी झण्डै एक सय कार्यालय छन् । यी सबैले अवधि सकिएका व्यवसायीलाई कारवाही अघि बढाइरहेका छन् । उहाँले भन्नुभयो,“कतिपयले स्पष्टीकरण सोधेका छन् भने कतिले कालोसूचीमा नै निकालिसकेका छन् ।”

गत वर्ष फागुनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का अवधि सकिएका विभिन्न निर्माण कम्पनीलाई अन्तिम पटक एक वर्ष अवधि थप्ने निर्णय गरेको थियो । सो निर्णयका आधारमा कम्पनीले काम अघि बढाएर विभागमा जानकारी गराउनुपर्ने भनिएको थियो । तीमध्ये कतिपय कम्पनीले बीचमा काम पनि अघि नबढाएको र विभागलाई जानकारी पनि नगराएको महानिर्देशक शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि रोकिएका ठेक्कामा एक वर्ष अवधि दिँदा पनि काम नगरेको पाइएकाले ती कम्पनीलाई पनि कारवाही प्रक्रिया थालिएको हो ।”

विभाग अन्तर्गका कार्यालयले अहिले सूचना निकालेका एक वर्षीय ठेक्का नै बढी छन् । केही बहुवर्षीय ठेक्का पनि तोकिएको अवधिमा सम्पन्न नभएकोमा कारवाहीमा जान लागिएको विभागले जनाएको छ । ठेक्का सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई कारवाही गर्नु विभागको नियमित काममा पर्ने महानिर्देशक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “यसमा सक्रियता बढी घटी हुनसक्छ तर हामीले यसलाई नियमित गर्दै आएका छौँ ।”

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विस्तारका क्रममा रहेको चावहिलबाट जोरपाटी हुँदै साँखु सडक र ढोलाहिटिबाट सुनाकोठी हुँदै चापागाउँ सडकमा कार्यरत निर्माण व्यवसायीलाई कारवाही प्रक्रिया थालेको छ । निर्माण शुरु भएको पाँच वर्षमा पनि सडक सम्पन्न हुनसकेको छैन । चावहिल–साँखु सडकमा काम गरिरहेको युनाइटेड विल्डर्स एण्ड इञ्जिनीयर्स प्रालि र चापागाउँ सडकमा दिवा÷शैलुङ जेभिले समयमा काम नगरेको बताइएको छ । यी कम्पनीले सम्झौताअनुसार प्रगति गरेका थिएनन् भने गत आवमा कोभिड–१९ को कारण देखाएर समय थप्न अनुरोध गरेका थिए । थप भएको अवधिमा समेत निर्माण सम्पन्न गर्नेतर्फ चासो नदेखाएको उल्लेख छ । आयोजनाले कालोसूचीमा राख्न नपर्ने कारण भएमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ ।

त्यस्तै, डिभिजन सडक कार्यालय हेटौँडाले २१ कम्पनीसँग गरिएको सम्झौता तोडेको छ । सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा २(क) र ७ बमोजिम ठेक्का तोडेर सोही ऐनको दफा ८ बमोजिम बैंक धरौटीसमेत जमानत जफत गरेको छ । डिभिजनले बाँकी कामको रकम सरकारी बाँकी सरह असुल उपर गर्दै कालोसूचीमा राख्ने प्रक्रियामा गएको हो । डिभिजनले कारवाही प्रक्रियामा शुरु गरेको कम्पनीमा आशिया, अभय, जिपिबि, सौरब कन्सट्रक्सन र शिव निर्माण सेवा छन् ।

त्यस्तै, सरस्वती निर्माण सेवा, सोनु कन्सट्रक्सन, निर्माण सेवा, हेटौँडा कन्सट्रक्सन, नन्दनी कन्सट्रक्सन, नवयूग निर्माण सेवा, जनजागृति कन्सट्रक्सन, सरस्वती कन्सट्रक्सन, बि ब्रदर्श निर्माण सेवा, पिवनायक कन्सट्रक्सन, विशाल कन्सट्रक्सन, दामुचन्द्रमाला कन्सट्रक्सन, आर यस निर्माण सेवालाई पनि कारवाहीको सूचना प्रकाशित गरिएको छ ।

सडक डिभिजन लहानले १२ कम्पनीलाई पनि सोही ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको छ । यी कम्पनीले शर्तअनुसार प्रगति नगरेको र समयमै काम सम्पन्न गर्नेतर्फ चासो नदेखाएको र कार्यालयसँग सम्पर्कमासमेत नआएको बताइएको छ । यी कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भएमा एक साताभित्र कार्यालयको सम्पर्कमा आउन भनिएको छ ।

बज्रगुरु कन्सट्रक्सन प्रालिका दुई बज्रगुरु-विकास जेभि, स्काइलाईन कन्सट्रसनका दुई, निलगिरी निर्माण सेवाको दुई, याकथुम्ह्याङ्ग÷बिपी कन्सट्रक्सन जेभिका दुई, प्रकाश÷आश्रय जेभि, रोशन कन्सट्रक्सन प्रालि र जोशी कन्सट्रसनका ठेक्कामा ढिलाइ भएको भनी कारवाही प्रक्रिया बढाइएको छ । गत महिना मन्त्रालयअन्तर्गतका सबै विभाग, बोर्डलगायतका निकायको गत आबको समीक्षा कार्यक्रममा पनि काम नगर्ने कम्पनीलाई कारवाही गर्नुपर्ने विषय उठेको थियो । भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले सडक विभागलाई अवधि सकिएका कम्पनीलाई प्रक्रियाअनुसार कारवाही गर्न निर्देशन दिनुभएको थियो ।- रासस


प्रतिक्रिया दिनुहोस !


मलिका महत फिल्ममा फ्लप, म्युजिक भिडियोमा हिट



काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म यात्रा : म्युजिकल भ्ल्ग मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसकेकी छिन् । फिल्ममै आफूलाई स्थापित गर्ने तयारीमा रहेकी मलिका केही समययता भिडियोमा व्यस्त छिन् । फूलबुट्टे सारी’ मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दो छ । दर्शकले पल र मलिकालाई ’पिएम’ जोडीसमेत भन्न थालिसकेका छन् । भिडियोमा अभिनय गर्न थालेको केही समयमै उनको आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीत दर्शकले सर्वाधिक रुचाएका छन् ।

भिडियोमा पछिल्लो समय खोजिने मोडलको लिस्टमा मलिकाको नाम अगाडि आए पनि फिल्ममा भने उनले त्यो लोकप्रियता पाउन सकेकी छैनन् । उनले दुई फिल्ममा अभिनय गरे पनि ’पानीफोटो’ भने प्रदर्शन हुन बाँकी छ । तर, उनको भिडियोझैँ लोकप्रियता फिल्ममा भने कम छ । केही दिन अगाडि मात्र फिल्म ’सत्यम’मा अनुबन्धित् भएकी मलिका आफूलाई फिल्ममै सफल देख्न चाहन्छिन् । केहि समयअगाडि मात्र उनी एक प्रतिष्ठित ब्यानरको अडिसनमा रिजेक्ट भएकी थिइन् । उनले पाएको रोललाई अडिसनमा न्याय गर्न नसकेपछि उनलाई लिन नसकिएको उक्त फिल्मको टिमका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस !

विश्वभरी चर्चामा किमको नयाँ फेसन, माथि सुट पाइन्ट र तल चप्पल



एजेन्सी । अस्वभाविक अभिव्यक्तिका कारण बारम्बार चर्चामा आउने उत्तर कोरियाली नेता किम जोङ उन फेरि सञ्चार माध्यममा चर्चामा आएका छन् । यस पटक उनी अभिव्यक्तिभन्दा पनि आफूले लगाएको फेसनका कारण चर्चामा आएका हुन् । ३७ वर्षीय तानशाह किम आइतबार राजधानी प्योङयाङमा आयोजित एक कार्यक्रममा अस्वभाविक पहिरनमा देखिएका थिए । किमले चप्पल र मोजामाथि सुट लगाएका थिए । कालो सुट र टाइममा सजिएका किमले चप्पल लगाएपछि धेरैको ध्यान उनीप्रति तानिएको थियो ।

उनको पछिल्लो पहिरनले किमको स्वास्थ्यबारे फेरि अड्कलबाजी सुरू भएको छ । उनको खुट्टाको शल्यक्रिया वा गहिरो घाउका कारण जुत्ता लगाउन नमिलेर चप्पल लगाएको हुन सक्ने अनुमान गरिएको छ । अस्वभाविक रूपमा मोटा किम पछिल्लो समयमा केही छरितो देखिएका छन् । उनले १० केजी भन्दाबढी तौल घटाएको कोरियाली सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनको स्वास्थ्यबारे विज्ञहरूले बारम्बार चासो दिँदै आएका छन् । अत्यधिक धुमपान गर्ने किम मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् । उनका हजुरबुबा र बाबु दुबैको ह्यदघातका कारण मृत्यु भएको थियो । सत्तारुढ कोरियाली पार्टीको स्थापना दिवसको अवसरमा सहभागी भएका किमले आफ्नो पार्टी आर्थिक लक्ष्य प्राप्तीका लागि दृढ भएको बताएका थिए । कोरियाले सामान गरेको समस्यासँग जुध्न नेतृत्वपंक्ति अनुशासित हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !

एकीकृत समाजवादी बैतडीको इन्चार्जमा भट्ट, दार्चुला इन्चार्जमा बैतडीकै बिष्ट



बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बैतडी जिल्ला इन्चार्जमा प्रमानन्द भट्ट चयन भएका छन् । भट्ट केन्द्रीय पोलिटब्यूरो सदस्यसहित जिल्ला इन्चार्ज चयन भएका हुन् । नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस) मा गएका भट्टलाई पार्टी स्थायी कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो । भट्ट बैतडीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् । यसैगरी, पूर्व प्रदेश मन्त्री तथा नेकपा (एस) का केन्द्रीय सदस्य माया भट्ट प्रदेश सहसचिवमा चयन भएकी छन् । यसअघि एमाले हुँदा र माओवादीसँगको एकतापछि बनेको नेकपा हुँदाका बेला प्रदेश कमिटी सदस्य रहेकी भट्ट अहिले नेकपा (एस) को प्रदेश सहसचिव पदमा चयन भएकी हुन् ।

यसैगरी, नेकपा एमाले बैतडीका पूर्व अध्यक्ष तथा प्रदेश कमिटी सदस्य रहेका नरेन्द्र बिष्ट नेकपा (एस) को केन्द्रीय सदस्यसहित दार्चुलाको जिल्ला इन्चार्जमा चयन भएकाछन् । गत बिहीबारदेखि जारी स्थायी कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाडँफाड गरेको प्रदेश कमिटी सदस्य नरेन्द्र बिष्टले बताए । पार्टीका नियमित कामकाजहरु अब अगाडि बढाउने नेता बिष्टले बताए । आउँदो ३ कात्तिकमा बैतडी जिल्ला कमिटीको बैठक बसेर आगामी कार्यक्रमहरू तय गरिने उनले बताए । आगामी दिनमा पार्टीको पालिका तथा वडास्तरका कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए । पालिका र वार्डस्तरमा संगठन विस्तार तथा सुदृढीकरणका कार्यक्रम आयोजना गरिने नेकपा (एस) बैतडीले जनाएको छ । न्युजकारखाना ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: