१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

किशोरीलाई आँखा झिम्क्याएको निहुँमा सात जना मिलेर गरेका थिए प्रहरी जवानको हत्या



काठमाडौँ । गत जेठ ४ गते साँझ ट्राफिक प्रहरी वृत्त दरबारमार्गमा कार्यरत जवान युवराज घिमिरे मृत भेटिए । तारकेश्वर नगरपालिका–९ स्थित बासुकीटोलमा निर्माणाधीन घरसँगै उनी मृत भेटिएका थिए । मनमैजु क्षेत्रमा सडक पेटी र निर्माणाधीन घरमा आश्रय लिएर बस्ने ७ जना मिलेर उनको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

जेठ ३ गते मा ड्युटी सकेर गोङ्गबु गणेशस्थान स्थित डेरामा पुगेर उनी मनमैजु हिलेटोल स्थित खाजा घर गएका थिए । होटलमा खाजा खाँदै गर्दा बालाजु क्षेत्रमा सडक पेटी र निर्माणाधीन घरमा आश्रय लिएर बस्ने सचिन परियार ‘आइते’ र अञ्जली श्रेष्ठ आइपुग्छन् ।

सचिन परियार र १८ वर्षीया अञ्जली श्रेष्ठ लिभ–इन रिलेसनमा रहेको अनुसन्धानबाट खुलेको छ ।
खाजा घरमा युवराजले अञ्जलीलाई आँखा झिम्क्याएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

खाजा घरमा सँगै खाजा खाएपछि अञ्जलीले आफूलाई स्वास्थ्य समस्या भएको बताइन् । सचिनले प्रहरी जवान घिमिरेलाई भने–‘हामीलाई घरसम्म मोटरसाइकलमा छाडिदिनुस् ।’ स्थानीय जोनस खत्रीको निर्माणाधीन घरमा बस्ने सचिन र अञ्जलीले सो ठाउँलाई आफ्नो घर बताएका थिए । प्रहरी जवानसहित ३ जना मोटरसाइकलमा त्यहाँ पुगे । भवनमा पुगेपछि सचिनले भने–‘सम्धी भित्र बसौँ ।’

निर्माणाधीन घरमा मोटरसाइकल नपुग्ने भएकाले घिमिरेले मोटरसाइकल केही मिटर तल रोके । हेलमेट सचिनले बोकेर हिँडे । घरभित्र पुग्ने बित्तिकै सचिनले घिमिरेलाई अन्धाधुन्ध हेलमेटको टाउकोमा प्रहार गरे । सो भवनमा १३ वर्षीय नाबालकसहित ५ जना सुतिरहेका थिए । सचिनले भने–‘सबै जना उठ्, आज यो पुलिसलाई ठिक पार्नुपर्छ ।’

स्याङ्जा आँधीखोला गाउँपालिका–३ घर भएर मनमैजु क्षेत्रमा बस्ने २१ वर्षीया बसुन्धरा कार्की उर्फ बिपनाले प्रहरी जवान घिमिरेलाई पानी दिइन् तर, सचिनले सो पानी घिमिरेलाई खान दिएनन् । अनि, हत्या गरेर घरको बाहिरपट्टि म्याटले छोपिदिए । हत्या गरेर जवानको कपडा र बुट जलाएर आरोपीहरू त्यहाँबाट भागेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।

हत्यामा संलग्न आरोपमा प्रहरीले १३ वर्षीय बालकसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय सचिन परियार ‘आइते’, १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा आँधिखोला गाउँपालिका–३ घर भएर मनमैजु क्षेत्रमा बस्ने २१ वर्षीया बसुन्धरा कार्की उर्फ बिपना, आँधिखोला घर भएर सो क्षेत्रमा निर्माणाधीन घर र पेटीमा बस्ने ५६ वर्षीया नुनमाया कार्की छन् । नुवाकोट तादी गाउँपालिका घर भएका २१ वर्षीय बुद्ध लामा र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भएर सो क्षेत्रमा बस्ने ३० वर्षीय दोर्जे भन्ने अमृत तामाङलाई पनि प्रहरी पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका बालक उदयपुरका हुन् । मृतक ३२ वर्षीय घिमिरे खोटाङको मझुवागढी गाउँपालिका–१ का स्थानीय हुन् ।

१३ वर्षीय बालकले हत्याको रहस्य खुलाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी प्रह्लाद कार्की नेतृत्वको टोली हत्यामा संलग्न आरोपीहरुलाई पक्राउ गर्न सफल भएको हो । हत्यापछि बालाजुस्थित बाइसधारा जङ्गलमा लुकेर बसेका ४ जनालाई गोली प्रहार गरेर पक्राउ गरिएको काठमाडौँका एसएसपी रजौरेले बताए ।


प्रतिक्रिया दिनुहोस !