Saturday, January 18, 2025

ट्रेन्डिङ :

तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत

spot_img
spot_img
spot_img

धनगढी उपमहानगरपालिका–९ बङ्गारा कटान गाउँका दिनेश चौधरी आफ्नो बारीमा गरिरहनुभएको व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु आठ लाखसम्म बचत गर्नुहुन्छ । साविकको जिल्ला कृषि विकास कार्यालयले दिएको कृषिसम्बन्धी तीन महिने आइपिएम (एकीकृत शत्रुजीव व्यवस्थापन) को तालिममा सहभागी चौधरीलाई तालिमपछि व्यावसायिक तरकारी खेतीमा लाग्ने उत्प्रेरणा जगाएको हो । १७ कठ्ठा जग्गामा १८ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका उहाँले भन्नुभयो, “एसएलसी परीक्षा उत्तीर्ण गरिसकेपछि तालिम लिएर तरकारी खेती सुरु गरे, अहिले वार्षिक तरकारीको कारोबार भइरहेको रु १५ लाखमध्ये रु आठ लाख बचत गर्न सफलता मिलिरहेको छ ।”   
   
उहाँको घरमा चार सदस्य हुनुहुन्छ । अन्य रोजगारी नभएपछि उहाँसहितका परिवारका सदस्यहरुको मुख्य रोजगारी तरकारी खेती नै बनेको छ । भेटेरीनरी जेटिएसम्मको अध्ययन पूरा गर्नुभएका ४० वर्षीय चौधरीले भन्नुभयो, “लोकसेवा दिएर जेटिए (जुनियर टेक्निकल असिस्टेन्टं) मा नाम निकाल्न सक्थेहोला, तर त्यतातिर ध्यान नदिई जागिर गरेर पाउने तलबभन्दा तरकारी खेतीबाट भइरहेको आम्दानीले सन्तुष्ट छु ।”   

उहाँमा सानैदेखि उद्यमी बनेर गाउँमा रोजगार र स्वरोजगारको अवसर सिर्जना गर्नुपर्छ भन्ने सोच सानैदेखि थियो । उहाँको कृषि फर्म सञ्चालनमा छ । परिवारका सदस्यबाहेक नियमित रुपमा र सिजनको समयमा गरी उहाँले सात जनालाई रोजगारी दिनुभएको छ ।  

“बाह्रै महिना सिजन अनुसारका तरकारी लगाउँछु, तरकारी बिग्रिने पनि हुँदैन, लामो समय काम गरेकाले अनुभव पनि भइसक्यो”, उहाँले भन्नुभयो, “तरकारी बारी कहिल्यै खाली हुँदैन् । काँक्रा, फर्सी, पालङ, बोडीलगायतका तरकारी हुर्किदा मन सन्तुष्ट हुन्छ ।”  

तरकारीबारीमा व्यापारी पुगेर थोक मूल्यमा तरकारी खरिद गर्ने गरेकोले उत्पादित तरकारी बिक्री गर्न समस्या नरहेको उहाँ बताउनुहुन्छ । यसबाहेक धनगढीमा हप्तामा तीन दिन सञ्चालन हुने कृषि हाट बजारमा आफ्नो कृषि उपज बिक्री गर्न ल्याउनुहुन्छ । 

धनगढी वसन्त टोलका तरकारी पसले अनिल चौधरी तरकारी खेती गरेर दिनेश चौधरी धनगढीको एक सफल कृषकको रुपमा स्थापित हुनुभएको बताउनुहुन्छ । “धनगढीको कृषि हाटबाजारमा उहाँको बारीको धेरै परिमाणको तरकारी आउने गरेको छ”, अनिलले भन्नुभयो, “उहाँको परिश्रम देखेर आफूलाई तरकारी खेती गर्ने रहर जागेपनि परिस्थितिले गर्न सकेको छैन, तरकारी बेचेर जीवन निर्वाह गरिरहेको छु ।”

तरकारी खेतीसँगै होटल व्यवसाय पनि गरिरहनुभएका दिनेशले पछिल्ला वर्षमा केरा र मेवा खेती पनि गर्न थाल्नुभएको छ । उहाँले भन्नुभयो, “विगत तीन वर्षदेखि सात कठ्ठा जमिनमा केरा खेती गरेको छु । थप जग्गामा तरकारी खेतीसँगै मेवा पनि रोपेको छु ।” 

केराबाट मात्रै वार्षिक रु एक लाख ५० हजार बढी हजार आम्दानी हुन थालेपछि यो खेतीको विस्तार गर्ने सोच उहाँले बनाउनुभएको छ । केरा खेती विस्तारपछि थप पाँच जनालाई रोजगारी दिन्छु । उहाँले यो व्यवसायका अलावा बङ्गारा कटान गाउँमा थारु होम स्टे (थारु घरवास) सञ्चालन गरिरहनुभएको छ । 

थारु होम स्टेमा थारु समुदायको परम्परागत खानका परिकारले पाहुनाको स्वागत गर्ने गरिन्छ । उहाँले भन्नुभयो, “होमस्टेमा थारु सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्ने गरिएकोमा कोरोना भाइरसको महामारीसँगै सांस्कृतिक कार्यक्रम भने बन्द ग¥यो ।”    

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?