१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भोलि बुद्धजयन्ती : स्कुले विद्यार्थीले गरे मुठीदान (फोटो फिचर)



भक्तपुर । बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार भक्तपुरका विद्यार्थीले मुठी दान गरेका छन् । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट इङ्गलिश स्कूल भक्तपुरका विद्यार्थीले मुठीदान गरेका हुन् । विद्यार्थीमा दानको भावना जगाउन मुठीदान गराएको स्कूलले जनाएको छ ।

बुद्ध संवत् २५६७ को बुद्ध जयन्तीको अवसरमा स्कूलमा प्ले ग्रुपदेखि कक्षा १० सम्मका एक हजार दुई भन्दा बढी विद्यार्थीले दान गरेका हुन् । विद्यार्थीले आ–आफ्नो गच्छेअनुसार भेटी (पैसा), बिस्कुट, चामल, फलफूल आदि दान गरेका थिए ।
मुठीदान कार्यक्रमका लागि स्कूलले भक्तपुरको इनाचोस्थित मुनिविहारमा रहेका भिक्षु तथा श्रामनेरहरूलाई निमन्त्रणा गरेको थियो । दान लिनका लागि त्यहाँका दुई जना भिक्षु र ३२ जना श्रामणेर (भिक्षुको सुरुवाती चरण) का गरी कुल ३४ जना भिक्षु तथा श्रामनेरहरू स्कूल पुगेका थिए ।

स्कूलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीमा दानको भावना जागृत गराउने उद्देश्यले प्रत्येक वर्ष बुद्ध जयन्तीको अवसरमा विद्यार्थीलाई मुठीदान गराउँदै आएको बताए ।

२०७१ सालदेखि प्रत्येक वर्ष विद्यार्थीले मुठी दान गर्दै आएको स्कूलले जनाएको छ । यो बीचमा कोरानाको कारणले दुई वर्ष यो कार्यक्रम स्थगित भएको स्कूलले जनाएको छ ।
दान गर्नुअघि विद्यार्थीले हिंसा नगर्नु, झूटो नबोल्नु, व्यभिचारी नबन्नु, चोरी नगर्नु, सुरापन (मादक पदार्थ नखानु) नगर्नु भन्ने बुद्धको सन्देशसहित प्रार्थना गरेका थिए ।

स्कूलकी परियति शिक्षा संयोजक मञ्जु खड्काले दुई चार दिन अगाडि नै स्कुलका सम्पूर्ण विद्यार्थीका अभिभावकहरुलाई पत्रमार्फत कार्यक्रमको जानकारी पठाएको र त्यही अनुसार इच्छाएका विद्यार्थीले इच्छाएको दान गरेको बताइन् ।

त्यस कार्यका लागि कक्षा ९ का १५ जना छात्रछात्राहरु स्वयमसेवकका रुपमा रहेका थिए । स्कुलको प्रांगनमा मेचमा लहरै बसेका भिक्षु तथा श्रामणेरहरुलाई विद्यार्थीहरु लहरै आई आआफूले ल्याएका दान चढाएका थिए । विद्यार्थीले चढाएका दानलाई भिक्षुहरुबाट संकलन गरी त्यहीका विद्यार्थीले बोरामा राख्नेलगायतका दान संकलन गरी व्यवस्थित गरेका थिए ।

कार्यक्रममा सहयोग गर्न स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी राजभण्डारी, भाइस प्रिन्सिपल एवं एकेडेमिक कोअर्डिनेटर संगीता किवाछे, व्यवस्थापक प्रवेशराज राजभण्डारीलगायतका दर्जनौ शिक्षक शिक्षिका तथा कर्मचारीहरु खटेका थिए । दान कायृक्रम एक घण्टाभन्दा वढी समय चलेको थियो । दानपछि दान भएको सामान तथा भिक्षु श्रामणेरहरुलाई उनीहरुको बासस्थल भक्तपुरकै इनोचोस्थित मुनि विहारमा स्कल बसबाट पुरयाइएको थियो । 

यसैवीच स्कुलका कक्षा ४ का विद्यार्थीले स्कुल नजिकै व्यवहारिक शिक्षा लिनका लागि रोपर फलेको धान पछि मुनि विहारमै कक्षा ५ का विद्यार्थीले दान दिन जाने स्कूलले जनाएको छ । प्रत्येक वर्ष कक्षा ४ मा रहंँदा रोपको धान कक्षा ५ हुँंदा काट्ने भएकाले चार कक्षाकै विद्यार्थीले ५ कक्षा पुग्दा दान दिन जाने गरेको जनाएको छ ।

दान कार्यमा एक सय भन्दा वढी शिक्षकशिक्षिकाहरुले पनि दान दिएका थिए । साथै स्कुल परिसरका इच्छाएका व्यक्तिहरु पनि दान कार्यमा सहभागी रहेका थिए । स्कूलमा २०७१ सालदेखि कक्षा ५,६ र ७ का विद्यार्थीलाई परियति शिक्षा अध्यापन गर्दै आएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !