७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

चिकित्सक सहकर्मीकै लापरबाहीले मृत्यु भएका डा. सिंहको परिवारले कहिले सम्म पाउने न्याय



भैरहवा | भैरहवामा रहेको युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. ज्ञानेश्वरप्रसाद सिंहको सोही अस्पतालमै कार्यरत चिकित्सकको लापरबाहीले २ माघ २०७६ मा मृत्यु भयो । १० वर्षदेखि युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) मा कार्यरत सिंह १० भदौमा खसीको मासु खाँदा राति घाँटीमा हड्डी अड्किएपछि सोही अस्पतालमा भर्ना भएका थिए ।

उपचारमा संलग्न चिकित्सकले लापरबाही गर्दा थप उपचारका लागि काठमाडौं लगिएकोमा उनको २ माघमा मनमोहन अस्पताल काठमाडौंमा मृत्यु भयो । युसीएमएसका चिकित्सकले आधा हड्डी निकालेर बाँकी आधा पेटमा पुर्‍याएकाे बताए पनि हड्डी घाँटीमै रहेकाले खाना खाने नली च्यातिएको र त्यसको इन्फेक्सनले गर्दा छातीमा समेत संक्रमण भएका कारण उनको मृत्यु भएकाे अस्पतालले बताएको छ ।

युसीएमएस चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै सिंहको परिवार अहिले पनि न्यायका लागि सम्बन्धित ठाउँमा धाइरहेका छन् । तर, घटना भएको ८ महिना पुग्दासमेत न्याय नपाएको गुनासो सिंह परिवारको छ ।

३ महिनासम्म मनमोहन अस्पतालको आइसीयूमा उपचारका लागि डा. सिंहलाई राखे पनि चिकित्सकले बचाउन सकेनन् । उनका छोरा प्रज्वल सिंह बुबाको उपचारमा ५० लाखभन्दा बढी खर्च भएको बताउँछन् ।

पीडित परिवारले ३० माघमा नेपाल मेडिकल काउन्सिललाई काउन्सिलको निमावलीको नियम २२ बमोजिम आचारसंहिता विपरीत हेलचेक्राई र लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गरी पाऊ भन्दै पत्राचार गरेका थिए ।

पीडित परिवारको तर्फबाट डा. सिंहकी श्रीमती विना सिंहले काउन्सिलमा कारबाहीका लागि निवेदन दिएपछि काउन्सिलले युनिर्भसल कलेज अफ मेडिकल साइसेन्जलाई ७ चैत २०७६ काे निर्देशनसहितको पत्राचार गरी उपचारमा संलग्न चिकित्सक डा. विश्व तुलाचन, डा. लक्ष्मी पाठक, डा. सन्तोष साहलाई काउन्सिलको २२ फागुन २०७६ को पूर्ण बैठकले कारबाहीका लागि थप स्पष्टीकरण माग गरेको थियो ।

स्पष्टीकरण मागपछि काउन्सिलकले डा. सन्तोष साहको संलग्नता नदेखिएकाले उनलाई सफाइ दिने र विश्व तुलाचनको हकमा एक वर्षका लागि ईसोफेजिएल इण्डोस्कोपी गर्न नदिने गरी कारबाही गर्ने र बन्दाबन्दीका कारण स्पष्टीकरण दिन नसकेका एनेस्थेसियाका चिकित्सकलाई लिखित जवाफ दिन २ हप्ताको समय दिएको निर्णय गरेको थियो ।

काउन्सिलको यो कारबाहीप्रति पनि डा. सिंहको परिवार सन्तुष्ट छैन । छोरा प्रज्वलले आगामी दिनमा कसैलाई पनि यस्तो घटना नहोस् भन्नका लागि कारबाहीको माग गरे पनि काउन्सिलले चिकित्सकलाई जोगाएर कारबाहीको बहाना मात्र गरेको बताए । काउन्सिलको निर्देशनपछि पुनः परिवारले ४ असोज २०७७ मा काउन्सिललाई अनुसन्धान प्रक्रिया दोहोर्‍याइ कडा सजाय दिन र छानबिनको फाइल रिपोर्ट प्राप्त गर्न अनुरोध गर्दै निवदेन दिएको थियो ।

डा. विश्व तुलाचनलाई परिषद्को कानुनमा उल्लेख गरिएको कडा सजाय दिन र डा. लक्ष्मी पाठकलाई अनुसन्धान पूरा गर्नसमेत पीडित परिवारको तर्फबाट डा. सिंहकी श्रीमती विनाले निवेदन दिएकी थिइन् ।

त्यस्तै, काउन्सिलको अनुसन्धानबाट उपचारमा संलग्न नभएको भनिएका डा. सन्तोष शाहमाथि पनि पुनः अनुसन्धान गर्नसमेत उनले माग गरेकी छन् । पीडित परिवार अहिले क्षतिपूर्ति र सुविधाबापतको रकम पाउनुपर्ने भन्दै न्यायका लागि सबैतिर धाएकाे छ ।

नेपाल चिकित्सक संघ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय र युनिर्भसल कलेज अफ मेडिकल साइसेन्जलाई निवेदन दिएको भए पनि अहिलेसम्म क्षतिपूर्ति नपाइएको छोरा प्रज्वलले बताए । युनिर्भसल कलेज आफ मेडिकल साइसेन्जलाई ७ साउन २०७७ र २० भदौ २०७७ मा दुई पटक क्षतिपूर्ति र सुविधाबापतको रकम माग गर्दै निवेदन दिँदासमेत सुनुवाइ नभएको उनले बताए ।

निवेदनमा मेडिकल कलेजबाट पीडित परिवारलाई क्षतिबापत हालसम्मको समुचित क्षतिपूर्ति र कलेजबाट पाउनुपर्ने सुविधा उपलब्ध गराउनु माग गरिएको छ ।

यता अस्पताल प्रशासनले भने उपचारमा डा. सिंहलाई बचाउन धेरै रकम खर्च गरेको भन्दै परिवारलाई क्षतिपूर्ति दिन नसकेको बताएको छ । स्पतालका डाइरेक्टर खुमा अर्यालले आफ्नै खर्चमा काठमाडौंसम्म हेलिकाेप्टर मगाएर पठाउनुका साथै उपचारमा समेत खर्च गरेकाले थप रकम दिन नसकिने बताए ।

घटना कसरी भयो ?

युनिर्भसल कलेज अफ मेडिकल साइसेन्जका अर्थोपेडिक सर्जन डा. ज्ञानेश्वरप्रसाद सिंह १० भदौ २०७६ मा श्रीमती विनासहित एक पार्टीमा सामेल भए । साँझ ९ बजे खाना खाने क्रममा खसीको हड्डी घाँटीमा अड्कियो । त्यसपछि तत्कालै उनलाई मेडिकल कलेज भैरहवामा लगियो । त्यो रात डा. सिंहको उपचार भएन । ११ भदौमा चिकित्सकको टोलीले घाटीमा अड्किएकाे हड्डी निकाल्न अप्रेसन गर्‍याे । ५ घण्टा लगाएर अप्रेसन गरे पनि आधा हड्डी निस्किएको र आधा हड्डी पेटमा पुर्‍याएकाे चिकित्सकले परिवारलाई बताए ।

अप्रेसन सफल भएको भन्दै जुस खान हुने बताए । तर, १४ गते डा. सिंहले बान्ता गरे । उनलाई असहज भयाे । त्यसपछि परिवारले उनकाे सिटी स्क्यान गर्न आग्रह गरे । अस्पतालले पर्दैन भने पनि सिटी स्क्यान गर्दा हड्डी घाँटीमै देखियो ।

त्यसपछि पुनः डा. सिंहलाइ आईसीयूमा सारियो । आईसीयूमा लैजाना साथ अस्पताले अर्को अप्रेसन गर्न काठमाडौं लैजानुपर्ने परिवारलाई बतायो । परिवारले हेलिकाेप्टरमार्फत काठमाडौं लगे । मनमोहन अस्पतालमा लगेर बिरामी भर्ना भएपछि उपचार सुरु भयो । त्यहाँ सुरुमै बिरामीको इन्डोस्कोपी गरियो । ईन्डोस्कोपी गरेर हेर्दा खाना खाने नली च्यातिएको र त्यसको इन्फेक्सनले गर्दा छातीमा समेत इन्फेक्सन भएको देखियो ।

अस्पतालले अप्रेसन गरेर हड्डी निकाले पनि खाना नलीमा भएको संक्रमण छातीसम्म पुग्यो । ३ महिना आईसीयूमा राखेर उपचार गरे पनि सुधार भएन । अन्तत: २ माघ २०७६ मा डा. सिंहको मृत्यु भयो ।

‘बुबाको उपचारमा सबै रकम खर्च हुँदा हामीलाई अध्ययान गर्नसमेत अप्ठयारो भएको छ । पढाउन लिएको बैंक ऋणका कारण घरसमेत बैंकले लिलामी गर्दै छ,’ प्रज्वलले भने, ‘पूर्णकालीन चिकित्सक भएका कारण र उपचारमा लापरबाही भएका कारण क्षतिपूर्ति हामीलाई अस्पतालले दिनुपर्छ ।’

प्रज्वल र उनकी बहिनी प्रज्ञा सिंह बंगलादेशमा एमबीबीएस अध्ययनरत छन् । कोरोना महामारीले गर्दा पढाइ बन्द भएपछि उनीहरू अहिले नेपाल आएका छन् ।- शिलापत्रबाट


प्रतिक्रिया दिनुहोस !