१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

रुघाखोकीभन्दा गन्ध र स्वाद थाहा नपाउनु कोरोनाका स्पष्ट लक्षण



बीबीसी । कोभिड–१९ सम्बन्धी हालै गरिएका नयाँ रिसर्चहरुमा रुघाखोकी या ज्वरो भन्दा गन्ध र स्वाद थाहा नपाउनु यसको अझ स्पष्ट संकेत हुन सक्ने पत्ता लागेको छ । युनिभर्सिटी कलेज लन्डनले सुँघ्ने क्षमता गुमाएका ५९० जनामा गरेको अध्ययनमा उनीहरु मध्ये ८० प्रतिशतमा कोरोना भाइरसको एन्टिबडिज फेला परेको हो । र तीमध्ये ४० प्रतिशतमा यसबाहेक अन्य कुनै लक्षण देखिएको थिएन जसले पनि गन्ध थाहा नपाउनु कोभिडको अझ स्पष्ट संकेतक हुन सक्ने देखाएको छ ।

गत अप्रिलदेखि नै सुँघ्ने अनि स्वाद थाहा पाउने क्षमता गुम्नु कोरोना भाइरसको लक्षण हुन सक्नेबारे विज्ञरुले खोजी गरिरहेका थिए । र सो तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि म मे महिनाको मध्यतिर यसलाई पनि कोभिडको आधिकारिक लक्षणमा समावेश गर्ने घोषणा भएको हो ।

अहिलेका अधिकांश स्वास्थ्य निर्देशिकाहरुमा गन्ध र स्वादमा फरक पर्नु या सो क्षमता हराएको अनुभव गर्नेहरुलाई कोभिडको परीक्षण गराउन सुझाव दिइएको छ । अध्ययनकी प्रमुख प्रोफेसर रेचल बेटरहेमका अनुसार खोकी र ज्वरो सबैले चिन्न सक्ने र बाहिरैबाट देखिने लक्षण भएका कारण अझैपनि प्रायःले संक्रमितहरुमा यिनै लक्षणको खोजी गर्ने गरेका छन् । यो खोजलाई अहिले यसकारण पनि धेरै महत्वपूर्ण मानिएको छ किनकी अब मानिसहरुले दैनिक प्रयोग हुने घरेलु वस्तुहरु, जस्तै पर्फ्युम, ब्लिच, टुटपेस्ट, कफी लगायतको गन्ध या स्वाद थाहा पाइरहेका छैनन् भने केही समयका लागि सेल्फ–आइसोलेसनमा बस्न सक्ने प्रोफेसर रेचलले बताइन् ।

सबै कोरोनाका बिरामीमा यो लक्षण अनिवार्य भने छैन तर अनुभव भएमा चाहिँ कोभिड संक्रमित भएको लगभग पक्का हुन सक्ने यस रिसर्चको निष्कर्ष छ । साथै यसको थप स्पष्टिकरण दिँदे प्रोफेसर रेचलले भनेकी छन्, “कसैलाई रुघा लागेको छैन, नाक बन्द भएको या सिगान बगिरहेको छैन तरपनि केही गन्ध थाहा हुँदैन भने त्यस्तो अवस्थामा सचेत हुनुपर्छ ।”

अध्ययनकर्ताहरुका अनुसार कोरोना भाइरसले संक्रमण गर्दा हाम्रो नाक, घाँटी अनि जिब्रोका पछाडिको सेलहरुमा कब्जा गर्ने हुनाले नै स्वाद र गन्ध थाहा पाउने क्षमता गुम्न सक्छ । ‘कोभिड सिम्टम स्टडी एप’ सञ्चालन गर्दै आएका किङ्स लन्डनका अनुसन्धानकर्ताहरुले पनि कोरोना भाइरसबाट संक्रमित ६० प्रतिशत मानिसहरुले गन्ध र स्वाद थाहा नपाउने गरेको यसअघि जानकारी गराएका थिए ।

यस्ता लक्षणहरु साधारण बिरामी पर्ने संक्रमितमा देखिन सक्छ तर कतिपय अवस्थामा यसले गम्भीर प्रभाव पार्न सक्ने बताइएको छ । जस्तै पछिल्ला केही महिना मानिसहरुले घरमा आगो लाग्दा समेत थाहा नपाएको र कतिले कोभिड परास्त गरि ठीक भएको महिनौँपछि पनि खानाको स्वाद राम्ररी थाहा नपाएको गुनासो गरेका छन् । र यी लक्षण मात्र भएका संक्रमितहरुले आफूमा भाइरस रहित भएको ठानेर सामान्य रुपमा हिँडडुल गर्न सक्छन् जुन अरुका लागि जोखिमदायक साबित हुने गर्दछ । त्यसैले पनि यो खोजलाई महत्वपूर्ण मानिएको छ ।


प्रतिक्रिया दिनुहोस !