६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

प्रदेशको राजधानी भालुबाङ सार्ने निर्णयको बिरोधमा कांग्रेसद्वारा रुपन्देही बन्द



बुटवल : असोज १८, प्रदेश ५ को सरकारले राजधानी दाङको भालुबाङ सार्ने प्रस्ताव गरेपछि नेपाली कांग्रेसले रुपन्देहीका बन्द गरेको छ । प्रदेश सभामा राजधानी सार्ने प्रस्ताव पेश भएपछि विपक्षी दल नेपाली काङ्ग्रेसले शुक्रबार सडकहरूमा टायर बाल्ने, सरकारी सवारीमाथि आगजनी गर्ने लगायत कार्य गरेकोमा शनिबार राँकेजुलुससहित प्रदर्शन गरेको थियो । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रहरुमा ५ जना भन्दा बढी जम्मा हुन पाइने छैन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति साढे ८ बजे सूचना जारी गरेर असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ।

प्रदेशसभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकेको हो । मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न पाइनेछैन। आइतबार बिहानैदेखि छिटफुट रूपमा सडकमा प्रदर्शनकारीहरू देखिएका छन्, अन्य व्यावसायिक प्रतिष्ठानहरुले पनि आन्दोलनको आह्वान गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय