७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

बैतडी, पाटन विमानस्थलमा पच्चीस बर्ष पछि बल्ल उड्ने भयो जहाज



बैतडी । विगत २५ वर्षदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थल कालोपत्रपछि परीक्षण उडान भएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले परीक्षण उडान सुरु गर्नुभएको हो । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट मन्त्री भट्टराईले समिट एयरबाट डोटी, बझाङ र बैतडीको पाटन विमानस्थलको परीक्षण उडान गर्नुभएको हो ।

परीक्षण गडान गर्न बैतडीको पाटन विमानस्थलमा ओर्लिनु भएका मन्त्री भट्टराईले २९ वर्षअघि बैतडी आउँदा पाटन विमानस्थलमा गिद्धले ठोकिएको विमान रोकिएको देखेको स्मरण गर्नुभयो । आफू दुईदिन गाडीको यात्रा गरेर विद्यार्थी संगठन विस्तार गर्न बैतडी पुगेको मन्त्री भट्टराईले स्मरण गर्नुहुँदै आज मन्त्रीका रुपमा पाटन विमानस्थलको धावनमार्गमा परीक्षण उडान गर्न आईपुगेको बताउनुभयो ।

परीक्षण उडानपछि कार्यक्रममा बोल्नुहुँदै मन्त्री भट्टराईले सुदूरपश्चिमका पहाडी जिल्लामा हप्तामा दुईदिन नियमित उडान हुने बताउनुभयो ।

मन्त्री भट्टराईसँगै डोटीबाट प्रतिनिधित्व गर्नुहुँने संघीय सांसद प्रेम आले, बैतडीका दोमेदर भण्डारी र सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री माया भट्ट पनि परीक्षण उडानमा सहभागी हुनुहुन्थ्यो ।

बैतडीबाट निर्वाचित संघीय सांसद भण्डारीले पाटन विमानस्थलको टर्मिनल हाउस, घेर पर्खाल निर्मार्णका लागि मन्त्री भट्टराई समक्ष माग राख्नु भएको छ ।

२०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला संरचना ध्वस्त भएपछि २०५२ देखि बन्द रहेको थियो ।

२० मिटर चौडाई र ५८० मिटर लम्बाई रहेको विमानस्थल तीनवर्षअघि देखि पुनःनिर्माणको काम सुरु भएको थियो । विमानस्थल कालोपत्र ११ करोड खर्च भएको छ ।- गोरखापत्र अनलाईनबाट


प्रतिक्रिया दिनुहोस !