spot_img
Tuesday, June 22, 2021
spot_img

ट्रेन्डिङ :

कोरोनाले सङ्कटमा मिर्गौला रोगी

spot_img

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) ले मिर्गाैला रोगका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोनाका कारण सरकारले लामो समयसम्म गरेको बन्दाबन्दी तथा निषेधाज्ञामा मिर्गाैला रोग लागेका बिरामी र उनीहरूका परिवार प्रभावित बन्न पुगेका छन् । बन्दाबन्दी तथा निषेधाज्ञा खुुले पनि मिर्गौला रोगीलाई अस्पतालसम्म पुुग्न अहिले निकै कठिन भएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीले मिर्गाैला ‘फेल’ भई डाइलासिस गराइरहेका व्यक्ति आर्थिक लगायत अन्य समस्यामा त थिए नै कोरानाका कारण झन् समस्या रहेको जानकारी दिनुभयो । उहाँले धर्मभक्त प्रत्यारोपण केन्द्र देशकै एक मात्र प्रत्यारोपण केन्द्र भएकाले चार सिफ्टमा डाइलासिस गरिरहेको जानकारी दिनुभयो । उहाँले बन्दाबन्दीको बीचमा ९० देखि सय जनाको मिर्गौला डाइलासिस भइरहेको बताउनुभयो ।

श्रीमान् मिर्गाैला रोगी भए श्रीमती र श्रीमती रोगी भए श्रीमान्ले कमाएर उसको उपचार र अन्य खर्च जोहो गर्न नसक्दा धेरै बिरामीलाई समस्या भएको छ ।

बन्दाबन्दीले धेरैको रोजगार गुम्दा मिर्गाैला डाइलासिस गराइरहने बिरामी र प्रत्यारोपणको पर्खाइमा रहेका बिरामी तथा प्रत्यारोपण गराइसकेका व्यक्ति त्यसको शिकार बन्न पुगेका छन् । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रमा मिर्गौला डाइलासिस गर्दै आउनुभएका सिन्धुपाल्चोकका मिलन श्रेष्ठको अवस्था अहिले धेरै नाजुक छ । छ वर्षअघि मिर्गौला फेल भएपछि उहाँको नियमित डाइलासिस गराउन थालिएको थियो । उहाँकी श्रीमती मुना राईले कनिकुथी गरेर डाइलासिस गर्दा लाग्ने खर्च तथा घरमा खानेकुराको व्यवस्था गर्नुहुन्थ्यो ।

तर कोरोनाको कारण उहाँले अहिले रोजगारी गुमाउनुपरेको छ । उहाँ भक्तपुरको एक कारखानामा गलैँचा बुन्ने काम गर्नुहुन्थ्यो । नियमित काम गर्दा १५ हजार रुपियाँ आउने गर्दथ्यो । त्यहीले गुजारा र श्रीमान्को डाइलासिसमा लाग्ने खर्च धान्दै आउनुभएकी राईलाई अहिले त्यो खर्च धान्न धेरै मुस्किल परिरहेको छ ।

गलैँचा बुन्ने काम पनि छैन, काम पाइहाले पनि श्रीमान्लाई हप्तामा तीन पटकसम्म डाइलासिसको लागि अस्पताल पु¥याउनुपर्ने हुन्छ । राईले श्रीमान्लाई डाइलासिस गराउँदा हप्तामा तीन दिन अस्पतालमै बित्ने गरेको गुनासो गर्नुभयो । महिनाभरी मरीमरी गलैँचा बुने मात्र १५ हजार रुपियाँ हुने भन्दै श्रीमान्लाई अस्पताल ल्याउँदा लैजाँदा गलैँचा बुन्ने काम गर्न नपाएको बताउनुभयो । श्रीमान् काम गर्न सक्नुहुन्न, राईले थप्नुभयो, “साथीभाइ र आफन्तसँग सरसापट मागेर खर्च चलाइरहेको छु । काम पनि छैन । अहिले अरूसँग लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । ”

मिर्गौला रोगी परिवारलाई राज्यले रोजगार दिनसके उपचारमा सहज हुने उहाँको भनाइ छ । मिर्गौला डाइलासिस निःशुल्क भए पनि उसले नियमित लगाउनुपर्ने सुई, प्रोटिन, क्याल्सियम जस्ता औषधि भने किन्नुपर्ने हुन्छ । शरीरमा आवश्यक मात्रामा खाद्यान्न, रगतको मात्रा पुगेन भने कठिन हुन्छ ।

बागलुङ ढोरपाटन नगरपालिकाका नरबहादुर छन्त्यालको समस्या कम छैन । दुुई दशकअघि २०५७ सालमा मिर्गौला फेल भएपछि ०५९ सालमा भारतमा गई मिर्गौला प्रत्यारोपण गराउनुभएको थियो । १४ वर्षपछि उक्त मिर्गौलाले काम गर्न छाड्यो र पुनः डाइलासिस गराउनुपर्दछ । भारतमै प्रत्यारोपणका लागि ३० लाख रुपियाँ खर्चनुभएका छन्त्यालले ढोरपाटनमा रहेको जग्गा जमिन सबै बिक्री गरिसक्नुभयो । बालाजु बस्दै आउनुभएका छन्त्याल राष्ट्रिय मिर्गौला केन्द्रमा नियमित डाइलासिस गराइरहनुभएको छ । उहाँको समस्या उस्तै छ । प्रत्यारोपण गरेको मिर्गौला फेल भइसक्यो । अर्को प्रत्यारोपण गर्न सम्भव छैन । नियमित आम्दानीको स्रोत छैन । कोरोनाले झनै जीवन कठिन बनाइदिएको छ ।

छन्त्यालको कथा पनि सुखद् छैन । छोरा खाडी मुलुकमा काम गर्न गएको छ । उसको पनि तलब धेरै छैन । कोरोनाले उता रोजगारीमा प्रतिकूल अवस्था सिर्जना गरेको छ । तैपनि कहिलेकाहीँ २०, ३० हजार पठाउने गर्छ । सरकारले निःशुल्क डाइलासिस गरिदिएको छ तर समय समयमा रगत परीक्षण गर्नुपर्ने, क्याल्सियम, प्रोटिन जस्ता पदार्थ नियमित सेवन गर्नुपर्ने भएकाले कठिन भइरहेको छ । बन्दाबन्दीमा सवारी साधन नहुँदा अस्पताल पुग्न धेरै समस्या झेल्नुपरेको उहाँको गुनासो छ ।

अहिले पनि कोरोनाको त्रासमा सार्वजनिक यातायात नपाइने, ट्याक्सी प्रयोग गर्दा हप्ताको तीन पटक अस्पताल कोठा आउजाउ गर्दा नै एक पटकको चार सयका दरले महिनामा धेरै खर्च लाग्ने उहाँको भनाइ छ । उहाँले पनि मिर्गौला रोगीभन्दा आश्रित व्यक्तिलाई सरकारले रोजगार दिन सके जीवन चलाउन सहज हुने बताउनुभयो ।

यस्तै बझाङकी कोपिला धामीको समस्या कम छैन । उहाँ २७ वर्ष हुनुभयो । सात र चार वर्षका छोरी छन् । श्रीमान् मार्केटिङमा काम गर्नुहुन्छ । श्रीमान्ले कमाएको पैसाले छोरी पढाउन, कोठा भाडा तिर्न र उहाँको नियमित डाइलासिस गर्न सक्ने अवस्था छैन । यसअघि उहाँलाई इन्द्रेणी समाजको पहलमा पाँच लाख उठाइएको थियो । उक्त पैसा नियमित परीक्षण गर्दा सकिएको छ ।

सुकेधारादेखि स्वयम्भू मनमोहन अस्पतालसम्म पुग्दा ट्याक्सी, खाना, औषधि लगायत सामग्री किन्नुपर्दा समस्या परेको गुनासो गर्नुभयो । उहाँको मिर्गौला प्रत्यारोपण गर्नलाई आमाले दिन्छु भन्नुभएको छ । तर कहाँ गर्ने, प्रत्यारोपणमा पनि उत्तिकै खर्च लाग्ने हुनाले अन्योलमा परेको उहाँको दुःखेसो छ ।

मिर्गौला पीडित सरोकार समाजका अध्यक्ष बलराम सुवेदीले कोरोनाबाट उत्पन्न समस्या र बन्दाबन्दीमा रोगीले ठूलो समस्या भोग्नुपरेको बताउनुभयो ।

प्रत्यारोपण रोकिँदा समस्या

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर कार्यकारी निर्देशक प्रा.डा. प्रेमराज ज्ञवालीले प्रत्यारोपण रोकिँदा समस्या परेको बताउनु भएको छ । उहाँले भन्नुभयो, “ मिर्गौला रोगीहरू जो नियमित डाइलासिस गराइरहेका छन् उनीहरूलाई ठूलो समस्या छ । बन्दाबन्दीले गर्दा उनीहरूमा यातायातको समस्या छ । कतिपय रोगीलाई हातमुख जोर्न नसक्ने अवस्थाका छन् ।

एक जनाले काम गरेर उपचारसहित परिवार पाल्नुपर्ने अवस्थाका बिरामी बढी समस्यामा परेका छन् । अहिले हामीले मिर्गौला प्रत्यारोपण गर्न सकेका छैनौ। नेपालमा मात्र नभएर कोभिड–१९ को कारणले विश्वका कुनै पनि अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको छैन । अब मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भन्नेमा पुगेका छौंँ ।’’- गोरखापत्र अनलाईनबाट

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: