१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

नेपालले चीनलाई उछिन्यो, रफ्तार अझै नरोकिने संकेत



काठमाडौं । नेपालले कोरोना भाइरस संक्रमितको संख्यामा चीनलाई उछिनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । जुन चीनमा भन्दा १ हजार ३७३ जनाले बढी हो । आइतबार २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित संख्यामा नेपालले चीनलाई जितेको हो ।

चीनको नेशनल हेल्थ कमिसनका अनुसार अहिलेसम्म मेनल्याण्ड चीनमा ८५ हजार ४५० संक्रमित फेला परेका छन् । शनिबार मेनल्याण्ड चीनमा १६ नयाँ संक्रमित थपिएका छन्, थपिएका सबै विदेशबाट आएका मानिसहरु हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार भने चीनमा अहिलेसम्म ९१ हजार १२१ संक्रमित फेला परेका छन् भने ४ हजार ७४६ जनाको मृत्यु भएको छ । डब्ल्यूएचओको तथ्यांकमा हङकङ, ताइवान, मकाउको तथ्यांक पनि चीनमा नै समावेश छ । सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए । नेपालमा भने त्यसको करिब दुई महिनापछि २०७६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए । त्यसपछि दोस्रो संक्रमण चैत १० गते देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस !