१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पहिलो पटक ओली र प्रचण्ड बिरुद्ध उभिए महासचिव पौडेल



काठमाडौं : असोज १८, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग माग राखेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव पौडेलले ओली र प्रचण्डलाई पुनर्विचार गर्न आग्रह गरेका हुन् । कोरोनाको जोखिम बढेको भन्दै सचिवालयको बैठक स्थगित गरिएता पनि आइतबार दिउँसो बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । सो भेटवार्तामा मुख्यमन्त्री पोखरेल, महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत उपस्थित थिए ।

बालुवाटार पुगेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पोखरेलले दाङमै राजधानी राख्ने अडान लिएपछि जनार्दन शर्माले पौडेल र पोखरेललाई सहमतिमा आउन आग्रह गरेका थिए । स्रोतका अनुसार सुरुमा मुख्यमन्त्री पोखरेलले राप्ती भ्यालीमा प्रदेशको राजधानी र लुम्बिनी नाम रहने गरी मान्यता प्रदान गर्न अध्यक्षलाई चिठी लेखेको र अध्यक्षद्वयले प्रदेशको राजधानी प्रदेशसभाले तोक्ने भन्दै राप्ती भ्याली र लुम्बिनीमा समर्थन रहेको सर्कुलर पठाएका थिए । सोहीअनुसार प्रदेश सरकारले निर्णय गरेर हाल यो प्रस्ताव प्रदेश सभामा पुगेको छ ।

पार्टीको ९ सदस्यीय सचिवालयमा बुटवललाई स्थायी राजधानी बनाइनुपर्ने मागमा महासचिव विष्णु पौडेल एक्लै परेका छन् । अध्यक्षद्वयसँगै वामदेव गौतम पनि दाङकै पक्षमा उभिएका छन् । बर्दिया र प्युठान दुबै जिल्लाबाट दाङ पायक पर्ने भएकाले गौतम दाङकै पक्षमा उभिएका हुन् । सचिवालयका बाँकी सदस्य रामबहादुर थापा बादल र ईश्वर पोखरेलले पनि साथ नदिएपछि बुटवललाई राजधानी बनाउने विषयमा सचिवालयभित्र महासचिव एक्लो बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस !