१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आर्मीको जुनियर अफिसरदेखि विदेशी मुलुकहुँदै होमस्टेसम्मको यात्रा



बसन्त भण्डारी,  सौराह । नेपाल आर्मीमा २० वर्षसम्म जागिर गरेर जुनियर अफिसरको रुपमा पेन्सन निस्केका ज्ञानेन्द्र थापा अहिले ५९ वर्षका भएका छन्, तर उनको उत्साह र जोस भने अझै १८ वर्षकै किशोरावस्थाजस्तै रहेको छ।

सेनाबाट अवकाश लिएपछि काम खोज्दै उनी कतार पुगेका थिए। थापा भन्छन्, “आर्मीको पेन्सनबाट मात्रै जीवनयापन गर्न गाह्रो थियो, त्यसकारण म कतार गएँ।” कतारमा समेत उनले ८ वर्षसम्म सुरक्षा गार्डको रुपमा जागिर खाए। विदेशमा ८ वर्ष बसेपछि नेपाल फर्किएका थापाको मनमा होमस्टे सञ्चालन गर्ने सोच आयो। चितवन राष्ट्रिय निकुञ्जको छेउमै उनको आफ्नै जग्गा थियो, त्यसैले पनि उनले होमस्टे सञ्चालन गर्ने योजना बनाएका हुन्। उनले “कोरोना महामारी सुरु हुनुअघि होमस्टेमा निकै राम्रो व्यवसाय देखेको” बताउँदै २०१५ सालदेखि होमस्टे सञ्चालन ल्याएको जानकारी दिए।

नेपालमै केही गर्ने र टोल समाजलाई समेत साथसाथै लैजाने सोचका साथ बैंकबाट ऋण लिएर ज्ञानेन्द्र थापाले होमस्टे सञ्चालन गरेको बताउछन् । “एक करोड भन्दा बढी लागतमा यस होमस्टेको सुरुवात गरेको हुँ, र अहिले ऋण तिरिरहेको छु,” उनले भने।

सुरुमा उनले आफ्नै परिवारका चार सदस्य र दुई जना बाहिरी कर्मचारीको सहयोगमा होमस्टे सञ्चालन गरेका थिए। चितवन जिल्लाको खैरहनी नगरपालिका-१३ हर्नारी स्थित आफ्नै जग्गामा उनले “हरियाली होमस्टे” सञ्चालनमा ल्याएका छन्। यो होमस्टे सौराहा बजारबाट करिब एक किलोमिटर पूर्वतर्फ रहेको कुमरोज सामुदायिक वनसँग जोडिएको छ।

ज्ञानेन्द्रको “हरियाली होमस्टे”मा देशविदेशका पर्यटकहरु आउने गर्दछन्। होटलस्वरुपको यो होमस्टेमा सिजनको समयमा एक महिनामा करिब ५ सय जनासम्म आगन्तुकहरु आउने गरेको उनले बताए। “असोज देखि माघसम्म नै धेरैको पर्यटकीय सिजन भएकाले त्यसबेला धेरै पर्यटक आउँछन्,” उनले भने, “तर अन्य समयमा भने फाट्टफुट्ट दुई/तीन जनामात्र पर्यटक आउने गर्छन्।” असोज-माघको सिजनमा होमस्टेको मासिक कमाइ ३ लाख रुपैयाँसम्म हुने गरेको उनले बताए । तर कोरोना महामारीपछि होटल व्यवसायमा आएको आर्थिक मन्दीका कारण आगन्तुकको सङ्ख्या कम हुँदै गएको उनको भनाई थियो।

हरियाली होमस्टेलाई कोरोना महामारीका कारण बिचको तीन वर्षसम्म पूर्णरूपमा बन्द गर्नुपरेकोले आर्थिक भार थपिएको गुनासो थापाले गरे। उनले भने, “कोरोनापछि राम्रो हुने सोचेका थियौं तर अहिले आर्थिक मन्दी सुरु भएको छ, देशको आर्थिक अवस्था नाजुक बनेको छ। यसले व्यवसाय क्षेत्रमा समेत प्रभाव पारेको छ। हाम्रो व्यवसाय अलिकति सफल हुन थालिसकेको थियो तर अहिले त्यति सफल भइसकेको छैन।”

ज्ञानेन्द्र थापा भन्छन्, “सम्भव भएसम्म होमस्टेमा आर्गानिक तरिकाले नै चीजहरू प्रयोग गरिरहेका छौ ।” ग्राहकको रुचि अनुसारका परिकारहरू तयार पारिने उनको भनाई छ। उनका अनुसार ग्राहकहरू पहिलेनै बुकिङ गरेर मात्र आउने भएकाले बुकिङको समयमा नै के खाने भन्ने निश्चित गर्नुपर्छ।

त्यसैगरी, हरियाली होमस्टेसँग आफ्नै जिप सफारीको पनि व्यवस्था छ। त्यहाँ आउने ग्राहकहरूले बाहिरको सफारीको लागि झन्झट गर्नुपर्दैन। साथै, हात्ती सफारीको समेत व्यवस्था गरिएको छ। यसबाहेक थारु संस्कृतिको अनुभव लिन पनि सकिन्छ।

हरियाली होमस्टेमा प्रति कोठाको शुल्क १२ सय रुपैयाँ लिइन्छ। त्यसैगरी, नर्मल खानाको प्रति व्यक्ति २ सय रुपैयाँ शुल्क लाग्छ। अन्य सेवाहरुको लागि छुट्टै शुल्क लिइन्छ। कम्बाइन्ड सफारीको लागि ८ सय रुपैयाँ शुल्क लाग्छ भने ११ जनाको समूहलाई ७०० रुपैयाँमा सफारी सेवा उपलब्ध गराइन्छ। त्यसैगरी, हात्ती सफारीको शुल्क १६०० रुपैयाँ रहेको थापाले बताए।

यसरी एक आर्मीको जुनियर अफिसरदेखि विदेशी मुलुकहुँदै होमस्टेसम्मको यात्रामा लागिरहेका छन् ज्ञानेन्द्र थापा ।


प्रतिक्रिया दिनुहोस !