१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

विदेशी कूटनीतिज्ञको उपस्थितिमा पोखरामा अन्नपूर्ण आरोहण दिवस



पर्यटन राजधानी पोखरामा ७४औँ अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) विभिन्न कायक्रम गरी मनाइएको छ । 

सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पाइला टेकेको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्र्ष जुन ३ मा अन्नपूर्ण आरोहण दिवस मनाइँदै आइएको छ । 

नेपाल पर्यटन बोर्डको आयोजना एवं परराष्ट्र मन्त्रालयको सहकार्य र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) गण्डकी प्रदेश र नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको सहकार्यमा आज विभिन्न नौ राष्ट्रका राजदूत एवं कूटनीतिज्ञसहित अन्नपूर्ण आरोहण दिवस मनाइएको हो ।  

दिवसका अवसरमा बिहान पोखराको फिस्टेल गेटदेखि बाराहीघाटसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतको सहभागिता थियो ।  

कार्यक्रममा उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्ने लक्ष्यका साथ सरकार यहाँका पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्र्धनमा लागेको बताउनुभयो । प्रकृति, संस्कृति, परम्परा, भौगोलिक विविधतालाई पर्यटकीयरुपमा उपयोग हुनुपर्नेमा उहाँले जोड दिनुुभयो ।   

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले मौरिस हर्जोगको अन्नपूर्ण आरोहणले नेपाललाई पर्वतारोहण र साहसिक गन्तव्यका रुपमा स्थापित गर्न मद्दत पुर्‍याएको बताउनुभयो । पोखरा नेपालको पर्यटनको गहना भएको बताउँदै उहाँले गण्डकी प्रदेशमा पर्यटनका प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो ।  

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा यहाँ पर्यटन लक्षित गतिविधि र पूर्वाधार विकास अघि बढाउने विषय प्राथमिकतामा रहेको बताउनुभयो । विदेशी कूटनीतिज्ञ समेतको उपस्थितिमा अन्नपूर्ण आरोहण दिवस मनाउनुले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ छ ।

इजरायली राजदूत हानन गोडर गोल्डब्रेटरले नेपाल पर्यटकीयरुपमा धेरै सम्भावना बोकेको क्षेत्र भएको बताउनुुभयो । उक्त अवसरमा अन्नपूर्ण प्रथमको पहिलो पटक आरोहण गर्नुभएका मौरिस हर्जोगको शालिकको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले अनावरण गर्नुका साथै अन्नपूर्ण हिमाल आरोहीलाई सम्मान गर्नुभएको थियो ।

अनावरण गरिएको शालिक हर्जोगले अन्नपूर्ण हिमाल आरोहण सुरु गरेको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा राखिने जनाइएको छ । उहाँले कार्यक्रममा अन्नपूर्ण हिमालको आरोहण गरेका आरोहीलाई सम्मान पनि गर्नुभयो ।  

उक्त कार्यक्रमपश्चात् उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसहित विदेशी कूटनीतिज्ञको टोली फेवातालमा जलविहार गर्नुका साथै अन्नपूर्ण केबलकारमार्फत सराङकोट पुगी त्यहाँबाट दृश्यावलोकन गर्नुभएको थियो । अन्नपूर्ण आरोहण दिवसको पूर्वसन्ध्यामा कूटनीतिज्ञको टोली आइतबार कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रामा समेत सहभागी भएको थियो ।  

दिवसकै अवसरमा टेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा आजै फेवाताल किनारास्थित भ्यु फेवा राउन्ड फेवा पदमार्गमा पदयात्रा सम्पन्न भएको अध्यक्ष धर्मराज पन्थीले बताउनुुभयो ।    


प्रतिक्रिया दिनुहोस !