१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

खानेपानीको समस्या झेल्दै घोरदौराबासी



घोराही उपमहानगरपालिका-१८ घोरदौराबासीले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् । यहाँ गर्मी मौसममा अझ धेरै खानेपानीको समस्या हुने गरेको छ ।  

आठ किलोमिटर टाढाबाट ल्याइएको पानीको मुहान गर्मी बढेसँगै सुकेपछि समस्या हुने गरेको हो । उपल्लो घोरदौरा निवासी सरस्वती विक घरनजिकैको धारामा पानी सुकेपछि ४५ मिनेट टाढा धरमपानी बाट पानी बोकेर ल्याउने गरेको बताउनुहुन्छ । हरेक दिन खानेपानी जोहो गर्नै समस्या हुने गरेको उहाँले बताउनुभयो । विकले भन्नुभयो, “गर्मी बढेसँगै गाउँमा पानीको सङ्कट हुन्छ ।” पानी लिन आउँदा ओरालो भए पनि फर्किंदा डेढ घण्टा उकालो हिँड्नुपर्ने उहाँले सुनाउनुभयो ।  

घोरदौराकै झिनीगाउँ निवासी सिर्जना भण्डारी वर्षा सुरु भएसँगै खानेपानीको दुःख भएको बताउनुहुन्छ । एउटै धारमा पालो कुरेर पानी भर्दा दुई घण्टा लाग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँमा पानी आउन बन्द भएपछि घरनजिकै ठूलो पँधेरा भन्ने ठाउँमा जाने गर्दथ्यौँ तर त्यहाँ पनि पानी सुकेपछि अहिले घोरदौरा आउने गरेकी छु ।” 

उज्यालोमा पानी भर्दा घण्टौँसम्म लाइन बस्नुपर्ने र पालो नआउँदै धारा सुक्ने भएकाले धेरैजसो राति नै पानी भर्न आउने गरेको स्थानीय बताउँछन् । घोराही उपमहानगरपालिका–१८, घोरदौरा निवासी ५७ वर्षीय शोभा अधिकारी करिब एक घण्टा दुरीमा रहेको धरमपानीस्थित धाराको पानी गाउँभरिकाले खानुपर्ने अवस्था भएको बताउनुहुन्छ । गाउँमा पानीको सङ्कट भएसँगै खानेपानी भर्न अचेल घोरदौरावासीलाई बिहान २÷३ बजे उठ्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “बुढेसकालमा पानी भर्न उकालो ओरालो गर्न समस्या छ । अर्को गाउँदेखि ल्याएको पानी सुकिसक्यो । त्यसैले अहिले एक घण्टा हिँडेर घरदेखि तल खोलामा रहेको धारामा जानुपर्ने बाध्यता छ ।”  

घोराही उपमहानगरपालिका-१८ का वडाध्यक्ष भरतमणि अर्यालले अहिले खानेपानी योजनाको काम भइरहेकाले आगामी वर्षसम्म समस्या समाधान हुने बताउनुभयो । घोरदौराका स्थानीयले वर्षौैँदेखि खानेपानी समस्या झेल्दै आएकाले दीर्घकालीन रुपमा समाधान गरिने उहाँको भनाइ छ । घोरदौराका ७० घरधुरीले एउटै धाराबाट पानी बोक्नुपर्ने बाध्यता रहेको छ । खानेपानी समस्याका कारण बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।   


प्रतिक्रिया दिनुहोस !