१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

जुम्लामा मूल सुकेपछि खानेपानीको हाहाकार



जुम्ला गुठीचौर गाउँपालिका घर भएकी एलिसा भण्डारी सदरमुकाममा पढ्नका लागि डेरामा बस्दा धारामा पानी नआउने समस्याले खोलाको पानी बोकेर खान बाध्य हुनुभएको छ । पढाइको झोलासँगै पानीका लागि डेरानजिक पर्ने खोला, मूल धाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

विगत दुई वर्षदेखि अध्ययनका लागि जुम्ला सदरमुकाम बस्दै आएकी सिँजा गाउँपालिका–६ की नमिता रावतको अनुभव पनि उहाँको जस्तै छ । हरेक दिन चाहिने खानेपानीको जोहो गर्न दैनिक तीन घण्टाको दुरी तय गरी खोलीकोट गाउँ धाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

जुम्लामा खानेपानीका मुहान सुकेर धारामा पानी कम भएपछि सर्वसाधारणलाई हैरान भएको हो । दैनिक जनजीवन नै प्रभावित हुने गरी यहाँ खानेपानीको अभाव भएको छ । चन्दननाथ नगरपालिका भारतीवाडाका व्यवसायी मनीषा बुढाले खानेपानी नहँुदा समस्या भइरहेको भन्दै पानी सुकेपछि आफ्नो होटल व्यवसायसमेत मारमा परेको जनाउनुभयो ।

पछिल्लो १५ दिन खानेपानी नआउँदा अर्काको धारामा तथा मूलमा गएर खानेपानी भर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । जुम्ला सदरमुकाम 

खलङ्गाका लागि खानेपानी उपभोक्ता समितिले लामो समयदेखि जिम्मा लिए पनि पानीको व्यवस्थापन गर्न सकेको छैन । नजिक खानेपानीको मुहान नहुँदा झन्डै १० किलोमिटर टाढाको पातारासी गाउँपालिका–६ र ७ को बडेखोली र रिनी गाउँको छहरेखोला र चन्दननाथ नगरपालिका–६, खालागाड खोलादेखि खानेपानी सदरमुकाम खलङ्गा 

ल्याइएको छ ।  खडेरीका कारण ती सबै मुहानमा पानी सुकेपछि स्थानीयलाई सास्ती हुन थालेको हो । कुनै बस्तीमा आधा महिनादेखि पानी आएको छैन भने कहीँ हप्ता दिनयता पानीको थोपा धाराबाट झरेको छैन ।  

खलङ्गा खानेपानी उपभोक्ता समितिका सहायक प्राविधिक अर्जुन बरालका अनुसार पानीका मुहानमा नै पानी कम भएपछि यो समस्या सिर्जना भएको हो । उहाँले २०५७ सालमा दुई सय धाराका लागि मात्र खानेपानी आयोजना बनाउँदा अहिले बढेर एक हजार ८५० धारा रहेकाले पानीको आपूर्तिमा समस्या आइरहेको बताउनुभयो । 

दौतरी होटलका सञ्चालक पदमबहादुर महतका अनुसार पानीको अभाव हुन थालेपछि पानी आएका बेला मौज्दात राख्नका लागि ४० हजार लिटरको रिजर्भ ट्याङ्की बनाइएको तर ट्याङ्की बनाएर के गर्नु ? पूरै भर्नका लागि पानी आउँदैन । खलङ्गामा पानीको अभाव भएपछि सङ्घीय सरकारले अहिले साढे आठ हजार धारा वितरणको लक्ष्य राखी बृहत् धौलीगाड खानेपानी आयोजनाको काम अघि बढाएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका निमित्त कार्यालय प्रमुख दीपेन्द्र भट्टका अनुसार आयोजनाको भौतिक प्रगति लक्ष्य अनुसार भइरहेको छ । उहाँले आयोजनाको भौतिक प्रगति करिब ४५ प्रतिशतभन्दा बढी भएको र एक हप्तामा यसको विस्तृत प्रतिवेदन आउने बताउनुभयो । 

कार्यालय प्रमुख भट्टका अनुसार बृहत् धौलीगाड खानेपानी आयोजनाका दुई वटा प्याकेजमा काम हुँदै छ । पहिलो इन्टेकदेखि आरभिटीसम्मको काम भएको छ, जसमा इन्टेक निर्माण, पाइप लाइन र ट्याङ्की निर्माण भइरहेको छ । यस क्षेत्रमा एक सयदेखि छ सय घन मिटरका ट्याङ्की निर्माण हुँदै छन् । चन्दननाथ, तातोपानी र गुठीचौर गाउँपालिकाका क्षेत्रमा उक्त खानेपानी पु¥याउने कार्यक्रम अन्तर्गत बृहत् खानेपानी आयोजना अगाडि बढाइए पनि यो आयोजना निर्माण सम्पन्न हुन अझै करिब दुई वर्ष लाग्ने बताइएको छ ।   

@गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस !