२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

प्रदेशसभामा तोडफोड गर्ने ३ उदण्ड सांसदहरुलाई कांग्रेसले कारबाही गर्ने



काठमाडौं : असोज १९, प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार तोडफोडमा उत्रिएका तीनजना प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले अनुशासनको कारबाही गर्ने भएको छ । संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार कारबाही गर्ने भएको हो ।

सोमबार दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोड गरेको सुन्नासाथ काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित बनेका थिए । सानेपामा सोमबार नै बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक कोरोनाका कारण बस्न नसकिरहेका बेला देउवाले केही केन्द्रीय नेताहरुसँग टेलिफोन सम्वाद गरेको स्रोतले बतायो । कांग्रेसको नीति विपरीत तोडफोड गर्नेहरुलाई तत्कालै कारवाही गर्न देउवाले निर्देशन दिएको एक नेताले जानकारी दिए ।

यसैवीच, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि सोमबार नै ट्विटमार्फत प्रदेशसभा तोडफोडको घटनालाई नेपाली कांग्रेसले ढाकछोप नगर्ने बताएका छन् । शर्माले ट्विटमा भनेका छन्, ‘अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको छिटपुटझ भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं ।’

सोमबार बुटवलमा प्रदेशसभाको बैठक भइरहँदा कांग्रेस सांसद बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार तोडफोडमा उत्रिएका थिए । अन्य केही सांसदले पनि उनीहरुलाई साथ दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय