वाल्यअवस्था पार गरिसकेपछि र किशोरावस्थामा प्रवेश गर्नुअघिको उमेर–चरण हो निकै संवेदनशिल मानिन्छ । शारीरिक, मानसिक हिसाबले तीब्र विकास र परिवर्तनको चरण हो यो । त्यसैले यतिबेला उनीहरु भावनात्मक रुपले अस्थिर हुन्छन् । ९ देखि १२ बर्षबीचको उमेर चरण, जसलाई पूर्व किशोरावस्था भनिन्छ ।
यो यस्तो अवस्था हो, जुन अवस्थामा न उनीहरु बुवाआमाको पूर्ण निगरानी रुचाउँछन्, न आफै सक्षम नै हुन्छन् । यतिबेला उनीहरुका लागि अभिभावकले विशेष ख्याल राख्न जरुरी छ ।
यतिबेला उनीहरु धेरै कुरा जान्ने वा बुझ्ने त भइसकेका हुन्छन्, तर के सही वा के गलत भनेर छुट्याउन असमर्थ हुन्छन् । के गर्ने र के नगर्ने भनेर निर्णय लिन नसक्ने हुन्छन् । त्यसैले यो चरणमा अभिभाकवको मार्गदर्शन निकै महत्वपूर्ण हुन्छ ।
अभिभावकले उनीहरुलाई ख्याल गर्नुपर्छ, मार्गदर्शन दिनुपर्छ । यद्यपि, अनावश्यक निगरानी र हस्तक्षेप गर्न उचित हुँदैन । कतिपय कुराहरुमा उनीहरुलाई निर्भर र स्वतन्त्र पनि बन्न दिनुपर्छ । उनीहरुले धेरै कुरा बुझ्न सक्छन् तर उपदेश दिएर उनीहरुलाई सही मार्गमा डोहो¥याउन कठिन हुन्छ । बरु आमाबुवाले नै आफुलाई उदाहरणको रुपमा पेश गर्नुपर्छ, जसलाई उनीहरुले अंगाल्न सकोस् । भनिन्छ नि, उपदेश भन्दा उदाहरण ठूलो हो ।
बच्चाको रोलमोडल बन्ने
वच्चाहरु त्यही कुरामा बढी प्रभावित हुन्छन्, जो अभिभावकले गर्छन् । अर्थात आफ्नो आमाबुवाको वोलीव्यवहार, कार्यशैली, कुराकानी आदिलाई उनीहरुले अनुशरण गर्छन् । त्यसैले आफ्ना छोराछोरीलाई उपदेश दिने वा सम्झाउने भन्दा पनि आफुलाई उनीहरुको सामुन्ने रोल मोडलको रुपमा पेश गर्नु बढी प्रभावकारी हुन्छ ।
साथसाथै छोराछोरीसँग पनि एउटा आदर्श सम्बन्ध स्थापित गर्नुपर्छ । एक त यो चरणमा उनीहरुलाई आफ्नो दायित्व, कर्तव्य बोध गराउन जरुरी छ भने अर्को चाहि उनीहरुलाई केही स्वतन्त्रता पनि दिनुपर्छ ।
आत्मनिर्भर बनाउने
सानो छँदा उनीहरुले सबैकुरा ढंग पु¥याएर गर्दैनन् । त्यसैले आमाबुवाले नै उनीहरुको काम गरिदिन्छन् । खाना ख्वाउनेदेखि लुगाफाटो लगाइदिनेसम्म । तर, यो उमेरमा आमाबुवाले उनीहरुलाई त्यसरी सहयोग गर्न आवश्यक छैन । उनीहरु स्वयम् आफ्नो काम गर्न सक्षम हुन्छन् । त्यसैले उनीहरुको सम्पूर्ण काम उनीहरुकै जिम्मामा छाड्नुपर्छ । जस्तो कि, लुगाफाटो लगाउने, जुत्ता पालिस गर्ने, खेलौना मिलाउने, आफ्नो ओछ्याउन सफा गर्ने इत्यादि ।
यो उमेरमा उनीहरुलाई अरु जीवनोपयोगी सिप पनि सिकाउन जरुरी छ । जस्तो कि, घर सरसफाई गर्नेदेखि भान्साको काम गर्नेसम्म । बगैंचा गोडमेल गर्नेदेखि आफ्नो लुगाफाटो धुनेसम्म ।
प्रविधिमा निर्भर नबनाउने
यो चरणमा पुगेपछि अक्सर बच्चाहरुमा खराब व्यवहारको विकास हुने भय पनि हुन्छ । सानो कुरामा फकाउन वा डर देखाउन नसकिने भएकाले उनीहरु जिद्दी हुनसक्छन् । आफुले चाहेको वा मागेको कुरा पुरा गरिदिनका लागि दबाव दिन सक्छन् । खासगरी अहिलेको समयमा उनीहरु मोवाइल, ल्यापटप आदिमा बढी नै लिप्त हुन सक्छन् । भिडियो गेममा उनीहरुको अशक्ति बढ्न सक्छ ।
यस्तो स्थितीमा उनीहरुलाई प्रविधिबाट पूर्णत अलग गर्न संभव छैन । यद्यपि त्यसको प्रयोगमा उचित समय निर्धारण गरिदिन जरुरी छ ।