१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

अदालतको आदेश उल्लंघन गर्दै व्यक्तिलाई फसाउन यौनहिंसाको तानाबाना



धरान । एउटा लेनदेनको विषयमा जिल्ला अदालत सुनसरीले धरानका रामप्रसाद राईलाई छुन पनि नसक्ने गरी आदेश दिएपछि यौनहिंसाको तानाबाना बुनिएको छ । 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक मानबहादुर राईले यस्तो तानाबाना गरी उपल्ला निकायमा पनि यहि रिपोर्टिङ गरेको पाइएको छ । 

रामप्रसादकी पूर्वप्रेमिकाको प्रयोग गरी उजुरी गराउने प्रयत्न गरिएको स्थानीयले बताएका छन् । यो एउटा जग्गाको लेनदेनको विषयमा भएको मुद्दामा रामप्रसादलाई तान्नका लागि बुनिएको अर्को तानाबाना रहेको हो । 

जिल्ला अदालत सुनसरीले गरेको आदेशविपरित इलाका प्रहरी कार्यालय डीएसपी मानबहादुर राईले एक सर्वसाधारणलाई २४ घन्टासम्म मानसिक यातना र दबाब दिएर कागज गराएको खुलासा भएको थियो । 

अदालतको पक्राउ पुर्जी समेत जारी नगरी हाजिरी जमानीमा रहेका रामप्रसाद राईलाई १६ जेठमा पक्राउ गरी २४ घन्टासम्म मानसिक यातना दिँदै १७ जेठमा छाडेको थियो । प्रहरीको बर्दीको बलमा दोहोरो नागरिकता रहेका नेपाली कांग्रेसका महासमिति सदस्य सुवास राईको पक्षमा लागेर डीएसपी मानबहादुर राईले रामप्रसादप्रति अन्याय गरेको उनले बताएका छन् । 

जग्गा कारोबारी रहेका राईको पक्षमा लागेर रामप्रसादमाथि डीएसपी मानबहादुर राईले कानुन विपरित काम गरेका छन् । 

अदालत पुगिसकेको विषयमा प्रहरीले सोध्न समेत नपाउने कानुनी व्यवस्था रहेकोमा डीएसपी मानबहादुरले त्यसको विपरित मानसिक यातना दिएको पीडितको गुनासो रहेको छ । 

अदालतको नै मानाहानी गरेको विषयमा जिल्ला अदालतमा प्रहरीविरुद्ध मुद्दा हाल्ने समेत तयारी भएको छ ।  

गत वैशाख ३१ गते साधारण तारिखमा रामप्रसादलाई अदालतले छाडेको थियो। उनको अर्को तारेख जेठ २९ गतेका लागि अदालतले तोकेको थियो। 

तर डीएसपी मानबहादुर राईले भने अदालतको नै मानाहानी गरी १६ गते नै बिना पुर्जी पक्राउ गरी १७ गतेसम्म राखेर बाहिर कागज गराई १८ नम्बर वडा कार्यालयमा लगेका थिए। 

धरान–१५ कि हर्कमाया लिम्बुको हाल सुन्दर हरैंचा नगरपालिका तत्कालिन दुलारी गाविसमा रहेको ८ कट्ठा २ धुर जग्गा बैंकमा राखी ८५ लाख रुपैंया ऋण लिने लेनदेनको विषयमा अनाहकमा रामप्रसाद राईमाथि दबाब दिइएको हो।

यो मुद्दामा लेनदेनको कागज २०८० साल फागुन २० गते गरिएको थियो। यो लेनदेनको विषय अदालतमा विचाराधिन अवस्थामा छ । लेनदेनमा गडबडी भए वा विवाद आए प्रहरीले समन्वय गरी अदालतसम्म लगिदिने काम हो। 

जब यो प्रकरणको खुलासा भयो रामप्रसादलाई कानुनी फन्दामा पार्न उनकी पूर्वप्रेमिका तयार पारिएको बताइन्छ। 

रामप्रसादलाई अदालतको आदेशबिना २४ घन्टा राखेको विषयमा कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी) चन्द्रकुबेर खापुङलाई गलत रिपोर्टिङ गरिएको पनि पाइएको छ ।

‘यौनहिंसा सम्बन्धी विषयमा सोधपुछका लागि लगिएको भन्ने हो। उनलाई प्रहरीले यहि विषयमा पक्राउ गर्न सक्छ’, डीआईजी खापुङले भने,‘अन्य विषयको जानकारी लिने र अनुसन्धानको काम जारी छन् ।’


प्रतिक्रिया दिनुहोस !