१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

ड्रागन फ्रुट खेतीमा रमाउँदै नेता केशर बहादुर गुरुङ



प्यूठान । सरुमारानी–२, दर्भान निवासी नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य ६२ वर्षीय केशरबहादुर गुरुङ राजनीतिसँगै कृषि पेसामा लाग्नुभएको छ । उहाँले दर्भानमा २० रोपनी र दाङको लालमटियामा एक बिघा जग्गा भाडामा लिएर ड्रागन फ्रुटसँगै अम्बा र बयर खेती गर्नुभएको छ । पार्टीका महत्वपूर्ण कामबाहेकको समय कृषिमा बिताउने गरेको उहाँले बताउनुभयो ।

‘उत्पादनसँग सबै जोडिनुपर्छ’ गुरुङले भन्नुभयो, ‘नेताले समृद्ध हुने बाटो पनि देखाउनुपर्छ भनेर राजनीतिसँगै कृषिकर्ममा लागेको हुँ ।’ दुई ठाउँमा गरी एक हजार दुई सय ड्रागन फ्रुट र अरु बोट अम्बा र बयरका छन् । व्यवसायमा तीन जनाले २५ लाख रुपियाँ लगानी गरेको गुरुङले बताउनुभयो ।

‘विसं २०७६ असारबाट यो खेती शुरु गरेका हौँ’ उहाँले भन्नुभयो, ‘यही साउनबाट फल दिन थालेको छ, दुई क्विन्टल फ्रुट बेचिसकियो ।’ गुरुङका अनुसार ड्रागन फ्रुट भारतको गुजरात, अम्बा तामिलनाडु र बयरको बेर्ना कलकत्ताबाट किनेर ल्याइएको हो ।

उत्पादित फ्रुट प्यूठानसँगै रोल्पा, बुुटवल, काठमाडौँसम्म गइरहेको छ । बजारमा रातोलाई प्रति केजी आठ सय र सेतोलाई प्रतिकेजी सात सय रुपियाँमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । गुरुङको ड्रागन फलको खेती जिल्लामा नै पहिलो हो । उहाँले दर्भानमा आँप, लिची, भुईंकटरलगायत खेती गर्दैआउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय