१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

६ पटक मात्रै होईन, २० पटक मन्त्री बन्ने दीपक मनाङेको दाबी



पोखरा । गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छैटौँ पटक मन्त्री नियुक्त भएसँगै आफु ६ पटक होईन २० पटक मन्त्री बन्ने दाबी गरेका छन् । यो अघि मनाङे ३ पटक खेलकुद मन्त्री, त्यसपछि लगातार तेस्रो पटक भौतिक पूर्वाधार विकास मन्त्री बनेका हुन् । मनाङे अहिले ३ महिना नहुँदै तेस्रो पटक मन्त्री बनेका हुन् । प्रत्येक मुख्यमन्त्रीको क्याबिनेटमा उनी छुटेका छैनन् । त्यसैले प्रदेश संरचनाको ७ वर्षमा उनी ६ पटक मन्त्री भएका हुन् । सुरुमा एमालेका पृथ्वी सुब्बा गुरुङको क्याबिनेटबाट सरकारमा छिरेका उनी त्यसपछि बनेको कृष्णचन्द्र नेपाली पोखरेलको सरकारमा पनि सामेल भए ।

मनाङ प्रदेशसभा २ बाट दोस्रो कार्यकालमा सर्वसम्मत निर्वाचित भएका उनलाई सुरुको १ वर्ष खासै वास्ता गरिएन । कारण यो पटक उनको मतले सरकारलाई खासै असर गर्दैनथ्यो । अहिले सत्ताको अङ्कगणित यस्तो ठाउँमा आएर अड्किएको छ कि फेरि मनाङे नै सत्ता गठन र विघटनको निर्णायक भएका छन् । २०७७ सालमा तत्कालीन नेकपा टुक्रिएपछि सङ्कटमा परेको पृथ्वी सुब्बा गुरुङको सरकारलाई मन्त्री बनाउनुपर्ने सर्तसहित सघाए ।

उनको सरकार ढल्यो, २०७८ जेठ २९ गते नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सरकार बनाउँदा पनि उनै मनाङे अनिवार्य भए । दोस्रो कार्यकालका लागि अघिल्लो वर्ष चुनाव भयो । मनाङे सर्वसम्मत निर्वाचित भएर संसदमा प्रवेश गरे । खगराज अधिकारीको पहिलो क्याविनेट र सुरेन्द्रराज पाण्डेको बहुमत छँदासम्म उनी मन्त्री हुन पाएनन्, कारण दुवैले मनाङेको आवश्यकता महसुस गरेनन् । पाण्डे जब अल्पमतमा परे उनले सत्ता जोगाउन मनाङेलाई अल्पमतमै रहेका बेला मन्त्री बनाएर रणनीति बुने । त्यति हुँदा पनि उनको सरकार जोगिएन । अधिकारीले दलका नेताहरूको हस्ताक्षर सहित ३१ जना गणना गरेर मुख्यमन्त्री दाबी गरे । प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री बनाइदिए ।

त्यतिबेला ३१ औं सङ्ख्या मनाङेकै थियो । उनी भौतिक मन्त्री दोहोरिए । अधिकारीले विश्वासको मत लिँदा ३१ पु¥याउन सकेनन् । ३० सिटलाई बहुमत घोषणा गरे पनि सर्वोच्चले उक्त प्रक्रिया खारेज गरिदियो र उपधारा (३) अनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्तिको परमादेश जारी ग¥यो । पाण्डे जेठ १६ गते मुख्यमन्त्री बनेका हुन् । मनाङे सहितको मतमा उनले सोमबार विश्वासको मत पाइसकेका छन् । मंगलबार उनलाई तेस्रो पटक भौतिक मन्त्री नियुक्त गरिएको हो । पद बहालीपछि उनले बाध्यताका कारण आफू पटक पटक मन्त्री बन्ने अवस्था आएको बताए । उनले भने, यस्तै अवस्था आइरह्यो भने ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नु पर्ने हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस !