६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

रूपन्देहीका २२ सय ४९ उद्योगी–व्यवसायीले त्यागे सत्तारुढ नेकपा



बुटवल : असोज २०, प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा लैजान लागेको विरोधमा उत्रिएका रूपन्देहीका सत्तारुढ नेकपासम्बद्ध उद्योगी–व्यवसायीले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी २ हजार २ सय ४९ जना उद्योगी–व्यवसायीले सत्तारुढ नेकपाको सदस्यता त्यागेको घोषणा गरेका हुन् ।

पार्टी त्याग्नेहरूमा सत्तारुढ नेकपानिकट विभिन्न विभाग र औद्योगिक, व्यावसायिक संघसंस्थाका अगुवाहरू मोतीलाल पाण्डे, एजाज आलम, समुद्र जीसी, माधव नेपाल, बाबुराम बोहोरा, राजेन्द्र ढकाल, कृष्ण घिमिरेलगायत छन् । प्रदेश सरकारले असोज १६ मा राजधानी दाङ लैजाने प्रस्ताव गरेपछि उद्योगी–व्यवसायीहरू रूपन्देही नै राजधानी हुनुपर्ने माग राखी विरोधमा उत्रिएका थिए । उद्योगी एवं व्यावसायिक सञ्जालमा यहाँका उद्योग संघ, उद्योग वाणिज्य संघ, व्यापार संघ, रूपन्देही उद्योग–व्यापार संगठन, होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायत ६० वटा संघसंस्था छन् ।

व्यवसायीहरूले प्रदेश सरकारका कुनै पनि कार्यक्रममा भाग नलिने र आफ्ना कुनै पनि कार्यक्रममा प्रदेश सांसदलाई नबोलाउने निर्णयसमेत गरेका छन् । संघसंस्थाहरूको सञ्जाल रूपन्देहीका अध्यक्ष यमलाल लोहनीले पार्टी त्याग्नेहरूको सूची नेकपा जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई बुझाइने बताए ।


प्रतिक्रिया दिनुहोस !