११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

‘बुक बिल्डिङ’ पद्धतिबाट सार्वजनिक निष्कासन गर्नसक्ने गरी निर्देशिका जारी



काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासनमा स्वतन्त्र मूल्य निर्धारण (फ्रि प्राइसिङ)का लागि बुक बिल्डिङ पद्धतिबाट सार्वजनिक निष्कासन गर्नसक्ने गरी निर्देशिका जारी गरेपछि निजी क्षेत्र निकै उत्साहित भएको छ । बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२० को अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले बुक बिल्डिङ पद्धति लागू भएपछि धितोपत्र बजारमा वास्तविक क्षेत्रको प्रवेश हुनुका साथै वैदेशिक लगानी भिœयाउनसमेत सहज हुने धारणा व्यक्त गरेका छन् ।

भर्चुअल रूपमा गरिएको अन्तक्र्रिया कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले धितोपत्र बजार मुलुकको अर्थतन्त्रलाई प्रतिविम्बित गर्ने ऐना भएकाले यसमा सबै क्षेत्रको प्रतिनिधित्व हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले अहिले धितोपत्र बजारमा बैङ्क, वित्तीय क्षेत्र, बीमा र जलविद्युत्को मात्र बढी प्रतिनिधित्व रहेको भन्दै त्यसमा वास्तविक क्षेत्रको ठूलो हिस्सा नसमेटिएकाले अन्य कम्पनीलाई पनि समावेश गर्न फ्रि प्राइसिङको व्यवस्था लागू गरिएको बताउनुभयो । उहाँले हाल नेपालले अवलम्बन गर्न लागेको बुक बिल्डिङ पद्धति अन्तर्राष्ट्रिय स्तरको भएकाले त्यसमा कम्पनी, बिक्री प्रबन्धक र आम लगानीकर्ता सबैको हितमा हुनेगरी ल्याइएको दाबीसमेत गर्नुभयो ।

कार्यक्रममा कम्पनी रजिस्ट्रार प्रदीपराज अधिकारीले कम्पनी रजिस्ट्रारको कार्यालयले राम्रो तथ्याङ्क आधार तयार गरिसकेको र त्यो आगामी दिनमा धितोपत्र बोर्डका लागि पनि निकै उपयोगी हुनसक्ने बताउनुभयो । उहाँले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुन आउन कम्पनीले निकै चासो दिने गरेकाले पनि बुक बिल्डिङ लागू भएपछि थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष एवं शिवम् सिमेन्टका प्रवद्र्धक सशित मोरले निजी कम्पनीले लामो समयदेखि धितोपत्र बजारमा जानका लागि स्वतन्त्र मूल्य निर्धारणको माग गर्दै आएकामा त्यो पूरा भएकाले निकै उत्साहित भएको बताउनुभयो ।

त्यस्तै नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मनिषकुुमार खेमकाले बुक बिल्डिङ पद्धति लागू भएपछि धितोपत्र बजारमा वास्तविक कम्पनीको प्रवेश हुने, बहुराष्ट्रिय कम्पनीलाई पनि प्रोत्साहन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा चौधरी ग्रुपअन्तर्गतका शिक्षा, स्वास्थ्य वा अन्य उत्पादन तथा प्रशोधन कम्पनी अब धितोपत्र बजारमा प्रवेश गर्ने वातावरण तय भएको बताउनुभयो ।

लगानीकर्ता सङ्घका अध्यक्ष उत्तम अर्याल, लगानीकर्ता छोटेलाल रौनियारले बुक बिल्डिङ पद्धतिले धितोपत्र बजारको स्वरूप नै परिवर्तन हुने बताउनुभयो । मर्चेन्ट बैङ्कर प्रदीपकुमार वैद्यले भारत र बङ्गलादेशमा पनि बुक बिल्डिङ पद्धति कार्यान्वयनमा आइसकेको भन्दै नेपालमा यसको महत्व, आवश्यकता र यसबाट हुने फाइदाबारे चर्चा गर्नुभयो ।

त्यस्तै बोर्डका कार्यकारी निर्देशक रुपेश केसीले बुक बिल्डिङ निर्देशिकाले गरेको व्यवस्थाका बारेमा जानकारी दिँदै यसमा सहभागी हुन हालसम्म बोर्डमा करिब पाँच दर्जन आवेदन परेको पनि बताउनुभयो ।- गोरखापत्र अनलाइनबाट


प्रतिक्रिया दिनुहोस !