१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नवलपरासीका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि



परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। नेशनल पथल्याब बुटवलमा सोमबार गरिएको पिसीआर परीक्षणको क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो। रुघाखोकी र ज्वरो आएपछि केही दिनदेखि आराम गरिरहेका नगरप्रमुख बस्यालले सोमबार स्वाब परीक्षण गर्दा आफू सङ्क्रमित भएको पुष्टि गरेका हुन्।

उनी अहिले होम आइसोलेसनमा छन्। आफूसँग सम्पर्कमा रहेकालाई सतर्क र सजग रहन आग्रह गर्दै प्रमुख बस्यालले छिट्टै कोरोना जितेर नागरिकको सेवामा फर्किने बताउए।

‘जनताको सेवामा खटिँदै गर्दा म पनि सङ्क्रमित हुन पुगेको छु, मलाई कुनै अफ्ठ्यारो परेको छैन, कति पनि हत्तोत्साहित नहुन म नगरवासीलाई आग्रह गर्दछु”, उनले भने।

कोरोनालाई हेल्चेक्रयाइँ नगर्न भन्दै कोरोनाको लक्षणहरु देखिएमा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरप्रमुख बस्यालले सबैमा अनुरोध पनि गरे।

यस्तै तुलसीपुर– दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा अध्यक्ष पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, इञ्जीनियर राजेश देवकोटा, गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सिद्धबहादुर केसी, बबई गाउँपालिका वडा नं २ का वडाध्यक्ष चिन्तामणि शर्मासहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

गाउँपालिकाका प्रेस संयोजक प्रेम राम्जाका अनुसार कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो।


प्रतिक्रिया दिनुहोस !