१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सांसद रेणुकुमारी यादवलाई कोरोना संक्रमण पुष्टि



सप्तरी। जनता समाजवादी पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेणुकुमारी यादवसहित सप्तरीमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले आज सार्वजनिक गरेको रिपोर्ट अनुसार ५८ वर्षीया सांसद यादवसहित सप्तरीमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। सांसद यादवका छोरा प्रदेश सभा सदस्य अभिषेक यादवलाई हिजो कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँका परिवारका सदस्य र काम गर्ने कर्मचारी सवैको स्वाव परीक्षण गरिएको थियो।

आज आएको रिपोर्टमा सांसद यादवसहित उनकी २६ वर्षीया छोरा बुहारी र २५ वर्षीय चालकमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरु सबैजना होम आइसोलेसनमा बसेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार प्रतिनिधिसभा सदस्य यादवसहित आज सप्तरीमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका चार जना कर्मचारी छन्। थपिएका सङ्क्रमितमध्ये राजविराज नगरपालिका वडा नं ६ का १७, वडा नं. ७ का १० र वडा नं ९ का पाँच जना रहेका छन्। त्यस्तै खडक नगरपालिका –७ का दुई, बलान बिहुल गाउँपालिका–२ का तीन र सोही गाउँपालिका–३ का एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले जानकारी दिए। योसँगै सप्तरीमा एक हजार ४४३ सङक्रमित पुगेको छ । तीमध्ये एक हजार १२७ जना उपचारपछि निको भएर घर फर्किएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !