१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

जस्तो कि भाइरल



के भा’छ अचेल
यो समाजलाई ?
के भा’ छ आजकाल
यी मान्छेहरूलाई ?
पोजेटिभ एप्रोचका विषयहरूभन्दा
नेगेटिभ एप्रोचका विषयहरू नै
रातारात भाइरल बनाइएका छन्
जस्तो कि —
पिसिआर् मेसिन खरिदका कुराभन्दा
मनैले जुट्न नसक्ने पार्टी एकताका कुरा
शैक्षिक–सत्र बङ्क भएका कुराभन्दा
जुम र गुगल मिटमा बैठक
र कुलीन कक्षाका कुरा
समाजवादको पन्थभन्दा
रामराज्यका कुरा
लोकतान्त्रिक चरित्रभन्दा
स्वगुट बलियो बनाउने कुरा
पहिरोले बस्ती बगाएको कुराभन्दा
छापावाल सुन महँगिएको कुरा
विवेकशील मानिसभन्दा
झोले कार्यकर्ता
र भोटर मात्रै महत्व भएको कुरा
श्रमजीवी पत्रकार बलराम बाँनियाको
सन्देहास्पद मृत्युका कुराभन्दा
रजतपटका कलाकार महानायक हुन्
होइनन् भन्ने कुरा
निर्मलाका न्यायका कुराभन्दा
रञ्जनका कथित मनोरञ्जनीय कुरा
विवेकका कुराभन्दा
बकवासका कुरा
यी र यस्तैयस्तै
बेला न कुबेला
ठाउँ न ठहर
आत्मरति लिँदै भाइरल बनाइन्छन्,

समाज कतातिर जाँदै छ ?
मानिस कतातिर लम्कँदै छ ?
म यी यक्ष प्रश्नहरू काँधमा बोकेर
दुई दसकदेखि
कहिले सहर र कहिले गाउँ
लुखुरलुखुर भाँतीमा
सग्लो र विवादहीन
उत्तरदाता खोजिरहेछु ।


प्रतिक्रिया दिनुहोस !