१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोरोना संक्रमण बढेपछि गौतमबुद्ध विमानस्थल निर्माणका चिनियाँ कामदार नेपाल आउन डराए



भैरहवा। रूपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सकिन अझै समय लाग्ने भएको छ । कोरोना संक्रमणका कारण हालसम्म विमानस्थल निर्माणको भौतिक प्रगति ९३ प्रतिशत छ । बाँकी ७ प्रतिशत काम विदेशी प्राविधिकले मात्र गर्ने भएकाले निर्माणको काम प्रभावित भएको विमानस्थल आयोजनाले जनाएको छ । कोरोना संक्रमणका कारण विदेशी कामदार नेपाल आउन नसक्दा अहिले विमानस्थलको कामले गति लिन सकेको छैन । ३५ जना चिनियाँ कामदार आउने टुंगो नहुँदा विमानस्थल निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । नेपालबाट कामदार ल्याउन अनुमति भए पनि चीनले स्वीकृति नदिँदा समस्या भइरहेको उनले बताए ।

चीनबाट आउने ३५ जनाको टोलीले रनवे र ट्याक्सीवेको लाइट जडान गर्नेछ । त्यस्तै, टोलीले टर्मिनलभित्रको एसी जडान र ट्रमिनल भवनबाहेकको अन्य काम (एसी कन्ट्रोल, एक्सरे मेसिन, सीसीटीभी) गर्नेछ । ‘चीनबाट यहाँ आउन अहिले उनीहरू पनि हच्चिएका छन् । नेपालमा संक्रमण दर बढेको खबर पाएपछि उनीहरू नेपाल आउन केही डराएको अवस्था छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘हामीले संयोजन गर्ने काम गरिरहेका छौँ । अहिलेसम्म आउने टुंगो लागेको छैन ।’


प्रतिक्रिया दिनुहोस !