१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपाल प्रहरीका असईको घाँटी रेटी हत्या,अर्का प्रहरी बेपत्ता



धनगढी – जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक मृत फेला परेका छन्। चौकीमै कार्यरत एकजना जवान बेपत्ता छन्। तस्कर सँगको भिडन्तमा असई बिक मारिएको आशंका गरिएको छ। सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले शव मोहना नदीको पानीमा घोप्टो परेको अवस्थामा भेटिएको र सनाखतलगायतका प्रकृया चलिरहेको जानकारी दिए।

डिआईजी सुवेदीले भने–‘असईको हत्या गरी मोहना नदीमा फालिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ उनको घाँटीको तलबाट रेटिएको पाइएको सुवेदीले बताए । चौकीका इन्चार्ज बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार रातिदेखि बेपत्ता थिए । साउँद भने अझै बेपत्ता रहेका छन् । बेपत्ता प्रहरीको खोजीका लागि गोताखोर टोली घटनास्थल पुगेको छ । सशस्त्र प्रहरीको अत्तरिया स्थित ७ नम्बर बाहिनीको गोताखोर टोली घटनास्थल पुगी बेपत्ता साउँदको खोजी गरिरहेको छ ।

धनगढी उपमहानगरपालिका १२ जुगेडाको त्यस क्षेत्रमा भारतबाट विभिन्न सामान अवैध रुपमा नेपाल ल्याउने गरिएको छ । त्यस क्षेत्रमा तस्करको ठूलो सञ्जाल सक्रिय रहेकाले तस्करले नै हत्या गरेको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन्। चौकीबाट मोटरसाइकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजेदेखि सम्पर्क बिहीन भएका थिए ।

उनले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको छ भने बिकसँग रहेको हतियार फेला परेका छैन।


प्रतिक्रिया दिनुहोस !