१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्रधानसेनापतिद्वारा जाडोमा महामारी बढ्नसक्छ, पूर्वतयारी गर्नू भन्दै निर्देशन जारी



काठमाडौँ- नेपाली सेनाका प्रधासेनापति पूर्णचन्द्र थापाले जाडो मौसममा कोरोना भाइरसको महामारी बढ्न सक्ने भएको भन्दै पूर्वतयारी गर्न आफू मातहतका अधिकारीहरुलाई निर्देशन दिएका छन्। मातहतका सबै पृतनापतिलाई उनले जाडो मौसममा महामारी बढ्ने पूर्वानुमानअनुसार तयारी गर्न निर्देशन दिएका हुन्। पृतनापतिहरुको समन्वयात्मक बैठकमा मंगलबार उनले भने, ‘सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरुसँग निरन्तर समन्वय गरेर आवश्यक पूर्वतयारी गर्नुहोला।’

उनले महामारीको समयमा आफ्नो फौज र तिनका परिवारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन पनि पृतनापतिहरुलाई निर्देशन दिएका छन्। संक्रमण भइहाले उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्न सबैलाई निर्देशन दिन पनि उनले आग्रह गरेका छन्। सेनाको कार्यशैलीमा सकारात्मक परिवर्तन आएको बताउँदै उनले संगठनलाई पद्धति र प्रणालीमा आधारित बनाउन थप बल पुर्‍याएको पनि उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !