Wednesday, September 18, 2024

ट्रेन्डिङ :

बैङ्क तथा वित्तीय संस्थाहरुमा ह्वात्तै बढ्यो कर्जा प्रवाह र निक्षेप सङ्कलन

काठमाडौँ। पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र निक्षेप सङ्कलन ७१ अर्बले बढाएका छन् । यसले अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको सङ्केत गरेको छ । कोरोना सङ्क्रमणबाट जोगिँदै सर्वसाधारण दैनिक कामकाजमा फर्कन थाल्नु र चाडबाडको माहोलले गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप सङ्कलनमा ह्वात्तै सुधार आएको हो । छ महिनाअघिको बन्दाबन्दीपछि कर्जा प्रवाह ठप्प बनेका बैङ्कहरू पछिल्ला दिनमा कर्जा प्रवाह र निक्षेप सङ्कलनमा आएको वृद्धिले उत्साहित बन्दै छन् ।

बैङ्कहरूले असोजको २३ गतेसम्म २८ खर्ब ७२ अर्ब रुपियाँ ऋण प्रवाह गरेकामा ३० गते आइपुग्दा यो बढेर २९ खर्ब ४१ अर्ब रुपियाँमा पुगेको हो । यसैगरी असोज २३ सम्म २९ खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरेका २७ वाणिज्य बैङ्कले असोज ३० सम्म ३० खर्ब ३५ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् । एक सातामै निक्षेप सङ्कलन मात्र ७१ अर्बले बढेको हो । बैङ्क तथा वित्तीय संस्थाको कर्जा तान्ने होडबाजी, कर्जा तान्ने विभिन्न दशैँ योजना र अफरले आर्थिक क्रियाकलाप चलायमान हुन थालेको छ । दशैँले बजारमा बढाएको चहलपहलसँगै बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्न थालेको हो ।

नेपाल बैङ्कर्स सङ्घका कार्यकारी निर्देशक अनिल शर्मा बजार खुलेपछि चाडबाडले गर्दा कर्जा र निक्षेपको मागमा उल्लेख्य सुधार आएको बताउनुहुन्छ । कर्जाको ब्याज दर घट्नु, आर्थिक क्रियाकलाप खुल्दै जानु, दशैँको माहोल बन्दै जानुले बैङ्क तथा वित्तीय संस्थामा कर्जाको माग आउन थालेको उहाँको भनाइ छ । भदौको अन्त्यदेखि असोज ९ सम्म करिब दुई सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी २५ अर्ब रुपियाँले बढेको थियो । बैङ्क तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा पनि ब्याज बढाएका कारण निक्षेप सङ्कलन पनि दुई सातामा करिब ३७ अर्ब रुपियाँले बढेको थियो । असोज ९ सम्ममा वाणिज्य बैङ्कले ३५ खर्ब ३२ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् भने २९ खर्ब २९ अर्ब रुपियाँ कर्जा लगानी गरेका थिए ।- गोरखापत्र अनलाईनबाट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?