१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मास्क र सामाजिक दूरीले संक्रमण नियन्त्रण हुन्छः जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डे



काठमाडौं– काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् । यसवर्ष संक्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र पाण्डे सल्लाह दिन्छन् ।

दशैंका समयमा अझै बढी भीड हुने भएकाले सार्वजनिक सवारी साधन चढ्न नहुने उनको सुझाव छ । जानैपर्दा पनि आफन्तको घर नजीक भए हिँडेर वा आफ्नो साधन हुँदा सुरक्षित भएर जानुपर्छ । टीका थाप्ने र लगाउने दुवै पक्षलाई मास्क प्रयोग तथा घर बाहिर निस्केपछि मास्क नखान तथा खानाखाजा नखान पनि उनले सल्लाह दिएका छन् ।

अहिले आइरहेको दशैं र त्यसपछि आउने तिहार, छठ, ल्होसारले गर्दा बजारमा भीडभाड बढिरहेकामा चिन्ता व्यक्त गर्दै उनले यस समयमा कडाइका साथ सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गराउन र नागरिकले गर्न लाग्नुपर्ने सुझाव दिए । ‘काठमाडौंका फुटपाथका पसललाई खुलामञ्च वा भृकुटीमण्डपमा सार्नुपर्छ र बसहरुमा एक सिटमा एक जना मात्रै बस्नुपर्छ ।’, उनले भने ।

काठमाडौं उपत्यका बाहिर जाने नागरिकलाई ‘होम आइसोलेसन’ मा बस्न स्थानीय तहले समन्वय गर्नुपर्छ । ‘घर जाने व्यक्तिले आफूसँगै संक्रमण लैजाँदा घरका नागरिक जो दीर्घरोगी हुनसक्छन्, उनीहरुलाई पछि गम्भीर असर गर्नसक्छ ।’ उनले भने ।सरकारले के ग¥यो र के गरेन भन्नुभन्दा पनि नागरिक आफैँ सजग हुनुपर्ने डा पाण्डेको सुझाव छ । नेपालमा कोभिड फैलिएको आठ महिनामा पनि अझै नागरिकले मास्क लगाउन, दूरी कायम राख्न र र भीडभाड नगर्न नसिकेकामा उनले चिन्ता व्यक्त गरे । मास्कलाई नाक, मुख छोपेर सही तरिकाले लगाउँदा संक्रमण फैलन सम्भावना कम हुने देखिएको उनले अध्ययन गरेका छन् । नब्बे प्रतिशतभन्दा बढी नागरिकले सही तरीकाले मास्क लगाउने चीन, भियतनाम, कम्बोडिया, जापानलगायत देशमा कोरोना नियन्त्रणमा रहेको उनले उदाहरण दिए । ती देशमा नागरिकलाई खोप पनि नचाहिएको र सरकारले बन्दाबन्दी नगरेको उहाँले बताए । उनले भने, ‘जनता अनुशासित हुँदा महामारी घट्छ, कोरोना चाँडो नियन्त्रणमा आउँछ ।’

काठमाडौं उपत्यकामा अहिले नै समुदायस्तरमा कोभिड–१९ फैलिसकेकाले दशैं तिहार, छठलगायत चाडपर्वमा संक्रमण अझै धेरै फैलन सक्ने अनुमान विज्ञले गर्दै आएका छन् । घर बाहिर हुँदा मास्क नलगाउने र भीडभाड गर्नेलाई कारवाही गर्नुपर्ने उनले माग गरे । निजी ठूला अस्पताल र केही सरकारी अस्पताललाई कोभिड अस्पताल बनाएर सबै शय्या, जनशक्ति र सघन उपचार कक्ष लिन सकिने उनको तर्क छ । उनले भने, ‘त्यसो हुँदा साना अस्पतालबाट अरु दीर्घरोगीले सेवा पनि सक्छन् ।’

अहिले पनि सही तरीकाले मास्क लगाउँदा र सामाजिक दूरी कायम गर्दा छ देखि १२ हप्तामा संक्रमण नियन्त्रणमा आउने डा पाण्डेको भनाइ छ । यस वर्ष चाडपर्वमा बलि दिने, जात्रा गर्ने, तास खेल्नेलगायत गतिविधि पूरै रोक्नुपर्नेमा उनको जोड छ ।

चाडपर्वका समयमा कसरी संक्रमण फैलन रोक्न सकिन्छ भनी मुख्यसचिव शङ्करदास वैरागीले गत साता विज्ञसँग सुझाव लिएका थिए । विज्ञले बन्दाबन्दी गरे वा नगरे पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गराउनुपर्ने सुझाव दिएका थिए । पहिले ‘लकडाउन’ वा ‘सटडाउन’ गर्दा बजार वा सडकमा मात्रै आवतजावत रोकेर बस्ती, चोकमा तरकारी बजारमा भीड रहेको उनले बताए । उनले भने, ‘अहिले लकडाउन नाम नदिइए पनि भीडभाड हुने स्थानमा सुरक्षाकर्मीको उपस्थिति बढाएर भीड नियन्त्रण र मास्कको प्रयोग बढाउनुपर्छ ।’ –रासस


प्रतिक्रिया दिनुहोस !