५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

घाँसीकुवा- नगरपालिकाले नाम खायो, राजमार्ग विस्तारले कुवा नै हराउने डर



तनहुँ। भानुभक्तलाई आदिकविको स्थान र सम्मानमा पुर्याउने प्रेरणादायी स्थल हो घाँसीकुवा । जीवनभर घाँस काटेर कमाएको पैसा नाम क्यै रहोस भनेर तिनताका कुवा खनाउने एउटा दरिद्र घरको घाँसीको प्रेरणादायी कुरा सुनेपछि भानुभक्तभित्रको साहित्य सृजना प्रस्फुटन भएको थियो । भानुभक्त मामाघर मानहुँ पुगेर पैदल बाटो फकिर्ने क्रममा घाँसीकुवामा नै घाँसीसँग जम्काभेट भएको बताईन्छ ।

भानुभक्तलाई आदिकवि जस्तो नेपाली साहित्यको एउटा सर्वोच्च सम्मान दिने सन्दर्भका तिनै घाँसीले बनाएको मानिने घाँसीकुवालाई खासै महत्व दिइएको छैन । विदेशमा प्रख्यात साहित्यकारको जन्मस्थल, उनका रचनासँग सम्बन्धित स्थल र सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्य स्थलका रुपमा राखिन्छ नेपालमा भने घाँसीकुवा जस्ता साहित्यिक सन्दर्भसँग जोडिएका स्थलको संरक्षणमा पर्याप्त ध्यान पुगेको देखिदैन । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार हुने क्रममा कुवा रहेको स्थान र पार्कमा सडक पुग्ने भएकाले संरक्षण गर्न जरुरी देखिएको छ । सडक विस्तारसँगै अहिलेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने अवस्था आउने हुँदा संरक्षणको लागि बेलैमा चासो राख्नुपर्ने माग स्थानीयको छ ।

व्यास नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तोत्र कुँवर घाँसीकुवा र पार्क जसरी पनि बचाउनुपर्ने बताउनुहुन्छ । “पृथ्वीराजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार नगरी कुवाको विपरीत स्थान फराकिलो बनाउने तथा बुल्दी खोलाको किनारको भागलाई उठाएर सम्म बनाइ संरक्षण गर्न सकिन्छ”, वडाध्यक्ष कुँवरले भन्नुभयो । घाँसीकुवा व्यास नगरपालिका–१२ मा छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्छ । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रभावित भई भानुले कविता रचना गर्नुभएको थियो ।

घाँसीलाई घाँस काटेरै कुवा बनाउने प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषाको विस्तार गर्नु भएको थियो । संस्कृत जस्तो प्राकृत भाषाको साटो जनजिब्रोमा झुण्डिने नेपाली भाषामा साहित्य रचनाको क्रमलाई बढाएर नेपाली साहित्यलाई अघि बढाउनुभएको थियो भानुभक्तले ।

कुवा पारीपट्टि पोल्याङ गाउँमा बस्ने पन्थ थरका ब्रामणको बस्ती रहेको र कुवाको नजिकको बस्ती भएकाले पन्थ नै घाँसी भएको अनुमान गरिएको भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराई बताउनुहुन्छ । व्यास नगरपालिका–११ पोल्याङ निवासी भोजराज पन्थले गर्नुभएको दाबी अनुसार वसन्त पन्थ नाम गरेका व्यक्तिले भानुलाई प्रेरणा दिनुभएको थियो । पन्थहरुको खोलानाला, डिही र पाखो भएकोले पन्थ नै घाँसी भएको दाबी उहाँको छ । घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरिदिएकाले पहिचान गर्न कठिनाई भएको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउनुहुन्छ । समितिका सदस्य प्रेम पन्थले हाल घाँसीकुवा रहेको भन्दा दुईसय मिटर पर उत्तरतिर करिब एक सय रोपनी सार्वजानिक जग्गामा स्थानीयब बासिन्दाले भानु–घाँसी पार्क बनाउन दिने निर्णय समेत गरिसकेकोले त्यस ठाउँमा पूर्वाधार निमार्ण गर्न ध्यान जानुपर्ने बताउनुहुन्छ । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई १२ नम्बर वडा कायम भएकाे छ ।- गोरखापत्र अनलाईनबाट


प्रतिक्रिया दिनुहोस !