५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

आफ्नै पार्टीका कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ?



काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख तथा युवा नेता विश्वप्रकाश शर्माले आज बक्तब्य निकाल्दै नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ? भनेर सरकारलाई नै प्रतिप्रश्न गर्नु भएको छ साथै पर्साकाे घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं भनेर उल्लेख गर्नु भएको छ ।

सत्तारूढ दल नेकपाको स्थानीय दुई समुह बिच पर्सा जिल्लामा असोज ६ गते बिहिवार झडप भएको, एक घाइतेको उपचारक्रममा निधन भएको र दोषीमाथि कार्वाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेकोे सार्वजनिक समाचार विवरणहरुप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ ।

घटना विवरण अत्यन्तै दुःखद छ । अतः पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानूनी कार्वाही गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।

नागरिकको जीवन रक्षा राज्यको प्रथम कर्तव्य हो । तर नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको छ । प्रधानमन्त्रीकै जिल्ला झापामा यसविचमा कयौंको हत्या भएको छ, प्रतिपक्षी दलका समर्थक शुभचिन्तक यसविचमा देशको कयौं ठाउँमा आधा दर्जनको संख्यामा सत्तारूढ पार्टीका कार्यकर्ताबाट मारिएका छन् । पर्साको घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेकोे दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ । घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कार्वाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो । तर ३ दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ ।

नेपाली कांग्रेस निष्पक्ष अनुसन्धान र कानूनी कार्वाहीको प्रक्रिया अविलम्ब थालनी गर्न संघीय र प्रदेश दुबै सरकारको गम्भीर ध्यानाकर्षण र माग गर्दछ !

जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग


प्रतिक्रिया दिनुहोस !