४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

अफगानिस्तान सुरक्षा फौजको कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिए



al-Masri
al-Masri

एजेन्सी- अफगानिस्तानको सुरक्षा फौजको कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार राति ट्वीट गर्दै सुरक्षा कारबाहीमा मारिएको जानकारी दिएको हो । मस्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मोस्ट वान्टेड व्यक्तिको सूचीमा रहेका थिए ।

उनीमाथि अमेरिकामा आतंकवादी क्रियाकलापमा संलग्न समूह र संगठनलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो । घाज्नी प्रान्तमा अल कायदामाथि गरिएको विशेष कारबाहीमा मारिएको मस्री अल कायदाका दोस्रो नेता भएको बताइएको छ । उनी इजिप्टका नागरिक हुन् । हुसाम अब्दुल रौफका नामले समेत चिनिने उनीविरुद्ध अमेरिकाले सन् २०१८ को डिसेम्बरमा पक्राउ पूर्जी जारी गरेको थियो ।

गत महिना अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अफगानिस्तानमा अलकायदामा २०० भन्दा कम व्यक्तिको संलग्न रहेको बताएका थिए । शनिबार मात्रै अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्माघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । विस्फोटमा कम्तीमा ५७ जना घाइते भएको बताइएको छ । विस्फोटको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ ।


प्रतिक्रिया दिनुहोस !