१ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 14 2024
Logo

कोरोना संक्रमण परीक्षण घटेसँगै संक्रमितको संख्या पनि घट्दै



विराटनगर- प्रदेश १ कोरोना परीक्षणको दर घटेसँगै संक्रमित थपिने क्रमसमेत घट्न पुगेको छ । दसैँयता प्रदेश राजधानी विराटनगरसहित पालिकाहरुमा स्वाब संकलनको दर निकै न्यून भएको छ ।

विराटनगर महानगरले गर्ने स्वाब संकलनसमेत केही घटेको छ । दसैँभर कोसी अस्पतालले पहिल्यै संकलन भई आएका नमुना मात्र परीक्षण गर्ने स्पष्ट गरेको थियो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार प्रदेशभर जम्मा १३४ जना कोरोना संक्रमित थपिए । तीमध्ये सबैभन्दा धेरै सुनसरीमा ५७ जना थिए । मोरङमा नयाँ संक्रमित ४२, झापामा ३१, तेह्रथुममा एक र प्रदेश बाहिरका तीनजनामा संक्रमण देखिएको थियो ।

सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका एक एक जना थपिएका छन् । विराटनगरमा ३२, बूढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा एक-एक र स्थानीय तह नखुलेका पा जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार झापाको भद्रपुर र बिर्तामोडमा आठ-आठजनामा संक्रमण देखिएको छ । यसैगरी मेचीनगर र कनकाईमा तीन-तीनजना, शिवसताक्षीमा दुई, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा एक-एक र स्थानीय तह नखुलेका तीन छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ । हालसम्म १० हजार १७९ जना डिस्चार्ज भएका छन् ।

बिहीबार जम्मा ४४२ जनाको पीसीआर परीक्षण भएको थियो । यसअघि दैनिक एक हजार भन्दा बढी पीसीआर परीक्षण हुँदै आएको थियो । सरकारी तथा निजी गरेर प्रदेशभर जम्मा आठवटा ल्याबमा पीसीआर परीक्षण हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !