३१ बैशाख २०८१, सोमबार
 |   Mon May 13 2024
Logo

सुत्केरी व्यथा लगाउन दिएको औषधिले आमा र बच्चाको मृत्यु



काठमाडौं : कात्तिक १४, लुम्बिनी प्रादेशिक अस्पतालमा एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएकी गुल्मी मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको मृत्यु भएको हो । बिहीबार दिउँसो अस्पताल भर्ना भएर परीक्षण गर्दा बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका थिए । तर साँझसम्मा दुवैको मृत्यु भएको हो ।

नर्मल प्रकृयामै सुत्केरी गराउन चिकित्सले प्रयास गरे पनि व्यथा नलागेपछि अप्रेशनमार्फत बच्चा निकाल्ने तयारी गर्दै गर्दा आमा र बच्चाको ज्यान गएको अस्पतालको दाबी छ । चार बजे स्वास्थ्य परीक्षण गर्दा आमा र बच्चा दुवैको अवस्था सामान्य थियो । त्यसपछि व्यथा लगाउने औषधि दिइएको चिकित्सकहरूले बताएका छन् । तर औषधि दिइएको ३ घण्टाभित्र शिशुको र त्यसको २ घण्टापछि गीताको ज्यान गएको थियो । मृतक गीताले नियमित रुपमा गर्भ जाँच गराउँदै आएकी थिइन् । चिकित्सकको सल्लाह बमोजिम नै बिहीबार अस्पताल भर्ना भएको मृतकको परीवारले बताएका छन् ।

बिहीबार ७ बजे अप्रेसनको तयारी गरिसक्दा पेटमा भएको शिशुको मृत्यु भइसकेको चिकित्सकहरूले बताएका थिए । त्यसपछि मृतकको श्वासप्रश्वासमा समेत एक्कासि समस्या आएको र राति ९ बजे गीताको ज्यान गएको अस्पतालले जनाएको छ । उता मृतकका आफन्तहरुले भने अस्पतालको लापरवाहीका कारण गीता र शिशुको ज्यान गएको भन्दै घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !